इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते
इटहरी– सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बुधबार साँझ इनरुवा नगरपालिका–५ बलाहामा भएको दुर्घटनामा घाइते भएकी इनरुवा–९ निवासी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटरसहित साइकल आपसमा ठोक्किएका थिए।
तीनवटा सवारीसाधन एकै ठाउँमा ठोक्किँदा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री गरी छ जना घाइते भएका थिए। घाइतेमध्ये स्कुटरमा पछाडि सवार इनरुवा नगरपालिका–९ निवासी सन्जु कुमार सरदारकी सात वर्षीया छोरी रिदिमा गम्भीर घाइते भएकी थिइन्।
उनलाई उपचारका लागि अस्पताल पुर्याइएकोमा साँझ ५ बजेर ४५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनाको करिब ४५ मिनेटमै बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक इनरुवा नगरपालिका–७ का ३० वर्षीय सुजन चौधरी घाइते भएका छन्। त्यस्तै मोटरसाइकल चालक दुहबी नगरपालिका–३ का २२ वर्षीय सागर सरदार तथा मोटरसाइकलमा सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार पनि घाइते भएका छन्।
साइकलयात्री इनरुवा नगरपालिका–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डलसमेत दुर्घटनामा घाइते भएका छन्। घाइते पाँचै जनालाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ।

