शवसमेत नभेटिएको ममता हत्या प्रकरणमा न्यायको फैसला, नरेश भट्ट फस्र्ट डिग्री मर्डरसहित तीन अभियोगमा दोषी !
काठमाडौँ– अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टीको जुरीले नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई तीनवटै अभियोगमा दोषी ठहर गरेको छ। ममताको शव अहिलेसम्म फेला नपरे पनि हत्या, शव लुकाएको र शवको अनादर गरेको अभियोगमा जुरीले दोषी ठहर गरेको हो
नरेशलाई आगामी सन् २०२७ मार्च १२ मा सजाय सुनाइने भएको छ। नेपालमा भाइटीका मनाइरहेका बेला अमेरिकाबाट आएको यो फैसलाले ममताका परिवार, आफन्त र न्यायको माग गर्दै लामो समयदेखि आवाज उठाइरहेका नेपाली समुदायलाई भावुक बनाएको छ। दुई वर्षभन्दा लामो समयदेखि अनुत्तरित रहेको ममताको बेपत्ता प्रकरणले अदालतको फैसलासँगै निर्णायक मोड लिएको छ।
मंगलबार, नोभेम्बर १० मा प्रिन्स विलियम काउन्टीको अदालतमा अन्तिम बहस सकिएपछि जुरीले करिब चार घण्टाको छलफलबाट नरेशलाई दोषी ठहर गरेको हो। जुरीले उनलाई पहिलो–डिग्री हत्या (फस्र्ट डिग्री मर्डर), मृत शरीर लुकाउने तथा मृत शरीरको अनादर वा क्षतविक्षत पार्ने अभियोगमा दोषी पाएको हो। फैसला सुनाइएपछि नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा नगर्ने आदेशसमेत भएको छ।
ममताको शव अहिलेसम्म भेटिएको छैन। तर शव नभेटिएको अवस्थामै अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाण, साक्षीका बयान र नरेशकै अदालतमा दिएको बयानका आधारमा जुरीले उनलाई हत्यामा दोषी ठहर गरेको हो। यस फैसलाले शव फेला नपरेको अवस्थामा पनि अन्य प्रमाणका आधारमा हत्या मुद्दामा दोषसिद्धि हुन सक्ने तथ्यलाई यो प्रकरणले फेरि चर्चामा ल्याएको छ।
नरेशले गत साता अदालतमा बयान दिँदै ममता आफ्नै घरमा मृत अवस्थामा भेटिएको दाबी गरेका थिए। उनले ममताले विष सेवन गरेको हुन सक्ने र आफूले उनलाई बचाउन नसकेको बताएका थिए। तर पत्नीको मृत्युमा आफूलाई दोष लाग्ने डरले आत्तिएर शव टुक्रा पारी फालिदिएको उनले स्वीकार गरेका थिए। ममताको हत्या भने आफूले नगरेको उनको जिकिर थियो।
नरेशको यही बयानलाई अभियोजन पक्षले उनको अपराधसँग जोडिएको महत्वपूर्ण स्वीकारोक्तिका रूपमा प्रस्तुत गरेको थियो। उनले शव टुक्रा पारेको र विसर्जन गरेको स्वीकार गरे पनि हत्या नगरेको दाबी गरेका थिए। तर जुरीले अभियोजन पक्षको तर्क र प्रमाणलाई स्वीकार गर्दै उनलाई फस्र्ट डिग्री मर्डरमा दोषी ठहर गरेको हो।
अदालतमा अन्तिम बहसका क्रममा सरकारी वकिलले नरेशको बयानलाई अविश्वसनीय भन्दै उनले ममताको हत्या गरेपछि शव टुक्रा पारेको र फोहोरझैँ फालेको जिकिर गरेका थिए। सहायक कमनवेल्थ अटर्नी क्याथरिन विलियम्सले शव टुक्रा पारेर फोहोरको डब्बामा राखेको स्वीकार गर्ने व्यक्तिले ममताको मृत्युमा आफ्नो कुनै भूमिका नभएको दाबी गर्नु तर्कसंगत नरहेको बताएकी थिइन्।
अभियोजन पक्षले अदालतमा करिब १०० जना साक्षीको बयान र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको थियो। घरभित्र भेटिएका रगतका प्रमाण, नरेशका इन्टरनेट खोजी, सीसी क्यामेराका दृश्य तथा प्रहरी र परिवारसँग उनले गरेका फरक–फरक दाबीलाई पनि अभियोजन पक्षले मुद्दाको आधार बनाएको थियो।
तर प्रतिवादी पक्षकी वकिल ट्रेसी लेनोक्सले अभियोजन पक्षले हत्याको आरोप शंकाभन्दा माथि प्रमाणित गर्न नसकेको तर्क गरेकी थिइन्। उनले अमेरिकी न्याय प्रणालीमा कसैलाई दोषी हुन सक्ने सम्भावनाका आधारमा मात्रै सजाय दिन नमिल्ने भन्दै जुरीलाई उचित शंका कायम रहेमा नरेशलाई हत्याको अभियोगबाट सफाइ दिन आग्रह गरेकी थिइन्।
सुनुवाइका क्रममा नरेशको मानसिक अवस्थाबारे पनि अदालतमा बयान भएको थियो। प्रतिवादी पक्षले बोलाएका मनोवैज्ञानिकले उनी पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) बाट प्रभावित रहेको बताएका थिए। नेपालमा सैनिक सेवामा रहँदा माओवादी विद्रोहीले बन्धक बनाएर आफूमाथि यौन दुव्र्यवहार गरेको नरेशले आफूलाई बताएको मनोवैज्ञानिकको भनाइ थियो। प्रतिवादी पक्षले उनको मानसिक अवस्थालाई घटनाको व्याख्यासँग जोड्न खोजेको थियो।
अदालतमा ममता र नरेशको वैवाहिक सम्बन्धबारे पनि साक्षीहरूले बयान दिएका थिए। ममताकी सहकर्मी तथा निकट साथी सुनिता बस्नेत थापाले उनीहरूको सम्बन्ध बिग्रँदै गएको र ममताले नरेशबाट मानसिक तथा शारीरिक यातना भोगेको आफूलाई बताउने गरेको बयान दिएकी थिइन्। उनले ममताको अनुहारमा चोटसमेत देखेको उल्लेख गरेकी थिइन्।
बस्नेत थापाले ममता लामो समयदेखि पीडामा रहेको र आफूले भोगेको अवस्था साथीहरूसँग साझा गर्ने गरेको बताएकी थिइन्। उनले अदालतमा बयान दिँदा भावुक हुँदै ममताले यातना भोगिरहेको कुरा आफूलाई पहिल्यै बताएको उल्लेख गरेकी थिइन्। फैसला आएपछि उनले ममताका लागि आफूले देखेका र सुनेका कुरा अदालतमा राख्न पाउँदा केही राहत महसुस भएको प्रतिक्रिया दिएकी थिइन्।
फैसलापछि ममताका साथीभाइ तथा समर्थकहरूले अदालतबाहिर प्रतिक्रिया दिएका थिए। सच्ची मैनालीले न्याय प्रणालीप्रतिको विश्वासका कारण आफूहरूले लामो समयदेखि यो दिनको प्रतीक्षा गरेको बताएकी थिइन्। उनका अनुसार अदालतको फैसलाले ममताको मृत्युबाट परिवार र समुदायले भोगेको पीडा मेटाउन नसके पनि न्यायको मागले एउटा महत्वपूर्ण परिणाम पाएको छ।
फैसलापछि भर्जिनियाकी कमनवेल्थ अटर्नी एमी एशवर्थले पनि कुनै फैसलाले ममतालाई फिर्ता ल्याउन वा परिवारले भोगेको अपूरणीय क्षति मेटाउन नसक्ने बताएकी छन्। तर अदालतको निर्णयले परिवारलाई केही हदसम्म न्यायको अनुभूति गराउने र ममताको जीवनको मूल्य थियो, उनको कथा सुनियो तथा दोषीलाई जवाफदेही बनाइयो भन्ने विश्वासका साथ अघि बढ्न सहयोग पुग्ने आशा उनले व्यक्त गरेकी छिन्।
एशवर्थले पीडितको शव नभेटिँदैमा न्याय नरोकिने बताउँदै राज्य प्रमाणको खोजी र सत्य उजागर गर्न प्रतिबद्ध रहेको उल्लेख गरेकी छिन्। ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा बस्दै आएकी नेपाली नर्स थिइन्। उनी यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा कार्यरत थिइन्।
सन् २०२४ जुलाईको अन्तिम सातापछि उनी सम्पर्कविहीन भएकी थिइन्। उनको खोजी र अनुसन्धानका क्रममा पति नरेशमाथि शंका बढ्दै गएको थियो। सन् २०२४ अगस्ट २२ मा नरेश पक्राउ परेका थिए। ममता बेपत्ता भएको घटनाले अमेरिका र नेपाल दुवैतिर नेपाली समुदायको ध्यान खिचेको थियो।
ममताको शव अहिलेसम्म फेला परेको छैन। उनको परिवारले छोरी, पत्नी र आमाको रूपमा ममताको अन्तिम संस्कारसमेत गर्न पाएको छैन। तर दुई वर्षभन्दा लामो अनुसन्धान र करिब छ हप्तासम्म चलेको सुनुवाइपछि आएको जुरीको फैसलाले यो मुद्दालाई नयाँ चरणमा पु¥याएको छ।
अब आगामी मार्च १२, २०२७ मा नरेश भट्टलाई सजाय सुनाइनेछ। फस्र्ट डिग्री मर्डरमा भर्जिनियाको कानुनअनुसार २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था छ। शव लुकाउने र शवको अनादर गर्ने अभियोगमा पनि थप सजाय हुन सक्नेछ।
यो फैसलाले ममताको परिवारको पीडा अन्त्य गर्न सक्दैन। उनको शव अझै भेटिएको छैन, परिवारले अन्तिम बिदाइ गर्न पाएको छैन। तर ममताका लागि न्याय माग्दै उठेको आवाज अदालतको फैसलासम्म पुगेको छ। नेपाली समुदायले लामो समयदेखि पछ्याउँदै आएको यो प्रकरण अब सजाय निर्धारणको चरणमा प्रवेश गरेको छ।
लोकप्रिय
ताजा अपडेट
शवसमेत नभेटिएको ममता हत्या प्रकरणमा न्यायको फैसला, नरेश भट्ट फस्र्ट डिग्री मर्डरसहित तीन अभियोगमा दोषी !

