इन्डोनेसिया उड्न लागेकी गाइनोकोलोजिस्ट डा. ज्योति अग्रवाल विमानस्थलबाट पक्राउ, एकै दिनमा रिहा !
काठमाडौँ– सम्पत्ति शुद्धीकरण मुद्दाकी प्रतिवादी रहेकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) डा. ज्योति अग्रवाल इन्डोनेसिया जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार उनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।
तर, पक्राउ परेको भोलिपल्टै बुधबार अदालतमा उपस्थित हुने सर्तमा उनलाई हाजिरी जमानीमा रिहा गरिएको छ। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराका अनुसार डा. अग्रवाललाई जटिल स्वास्थ्य समस्याका कारण हाजिर जमानीमा छाडिएको हो। उनी अदालतमा उपस्थित हुने सर्तमा रिहा भएकी हुन्।
डा. अग्रवाल विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल मुख्य प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी छिन्। उनी दीपेन्द्रकी दिदी हुन्। अनुसन्धानका क्रममा डा. ज्योतिको बैंक खाताबाट दीपेन्द्रको खातामा रकम कारोबार भएको देखिएपछि उनलाई पनि उक्त मुद्दामा प्रतिवादी बनाइएको हो।
अनुसन्धानमा देखिएको बैंक कारोबारका आधारमा प्रहरीले उनीमाथि समेत सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। तर, उनी अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध फरार प्रतिवादीका रूपमा मुद्दा पेस गरिएको थियो।
इन्डोनेसिया जान लागेका बेला विमानस्थलबाट पक्राउ परेकी उनलाई सीआईबीले आवश्यक प्रक्रिया पूरा गरेपछि अदालतमा उपस्थित हुने सर्तमा छाडेको हो। उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । अब उनले अदालतमा उपस्थित भएर कानुनी प्रक्रियामा सहभागी हुनुपर्नेछ।
यसै मुद्दाका मुख्य प्रतिवादी दीपेन्द्र अग्रवाललाई भने गत कात्तिक १९ गते काठमाडौं जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका अग्रवाल धरौटी बुझाएर रिहा भएका हुन्।
दीपेन्द्रको रिहाइपछि सोही प्रकरणमा प्रतिवादी रहेकी उनकी दिदी डा. ज्योति अग्रवाल विमानस्थलबाट पक्राउ पर्नु र स्वास्थ्य समस्याको कारण देखाउँदै भोलिपल्टै हाजिर जमानीमा छुट्नुले मुद्दाको अनुसन्धान तथा अदालतमा उपस्थितिको प्रक्रियालाई फेरि चर्चामा ल्याएको छ।
अब डा. अग्रवाल अदालतमा कहिले उपस्थित हुन्छिन् र उनीमाथि लगाइएको आरोपबारे अदालतमा कस्तो प्रक्रिया अघि बढ्छ भन्ने विषयले यस मुद्दाको आगामी दिशा तय गर्नेछ।
लोकप्रिय
चार वर्षको सजाय, तीन वर्षमै रिहाइ ! नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी जेलबाट छुट्दै

