छठ मनाउन घर पुग्ने सपना बाटैमा चकनाचुर, एउटै गाउँका १० जनाको भीरमा दर्दनाक मृत्यु !, २ जनाको मात्रै सनाखत

मकवानपुर– छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीस्थित घर फर्किंदै गरेका एउटै गाउँका आफन्त र छिमेकीको यात्रा मकवानपुरको भीरमा पुगेर कहिल्यै नफर्किने दुर्घटनामा परिणत भएको छ। बिहीबार बिहान भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रु बोकेको विद्युतीय माइक्रोबस सडकबाट करिब ७ सय मिटर तल खस्दा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका छन्। दुर्घटनामा घाइते पाँचै जनालाई उद्वार गरी हेटौंडा अस्पताल पु¥याइएको छ। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडीमा चालकसहित १५ जना सवार थिए। गाडी काठमाडौंबाट सर्लाहीतर्फ जाँदै थियो।

बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको चिसापानीगढी नजिकै गाडी अनियन्त्रित भएर सडकबाट तल खसेको थियो। गाडी करिब ७ सय मिटर तल पुगेको र भीरालो भूभागका कारण उद्वारमा कठिनाइ भएको सुरक्षाकर्मीले जनाएका छन्।

दुर्घटनामा ज्यान गुमाउनेहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका रहेको गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिएका छन्। छठ पर्व मनाउन उनीहरू काठमाडौंको ललितपुरस्थित टीकाथलीबाट गाडी रिजर्भ गरेर गाउँ फर्किंदै थिए। एउटै गाउँ र बस्तीका आफन्त तथा छिमेकी मिलेर यात्रा गरिरहेका थिए। उनीहरूमध्ये धेरैले एकअर्कालाई चिन्ने र सँगै पर्व मनाउने योजना बनाएका थिए।

मृतकमध्ये प्रारम्भिक विवरणमा चालक सर्लाहीको कबिलासी नगरपालिका–८ का रविशंकरकुमार मण्डल र चक्रघट्टा–४ सुन्दरपुरका सुवेक यादवको पहिचान खुलेको प्रहरीले जनाएको थियो। अन्य मृतकको पहिचान खुलाउने प्रक्रिया अघि बढाइएको छ। मृतकका परिवार र आफन्त घटनाको खबरपछि शोकमा डुबेका छन्।

दुर्घटनामा घाइते भएका सञ्जय यादवले आफू गाडीसँगै भीरबाट खसे पनि बीच बाटोमै उछिट्टिएर केही माथि पुगेकाले बाँचेको बताएका छन्। उनका अनुसार गाडी चिसापानीगढीमा रोकिएको थियो। चालकले गाडी अगाडि बढाउने क्रममा एक्कासि गाडी हुत्तिएर भीरबाट तल खसेको थियो।

‘गाडी भीरबाट खस्ने क्रममा म पनि गाडीसँगै खसेँ। तर बीचमै उछिट्टिएर अलि माथि पुगेँ। चोटपटक लागे पनि बाँचेँ,’ उनले घटनाबारे सुनाएका छन्। गाडी खसेपछि मात्रै आफूले दुर्घटनाको भयावह अवस्था थाहा पाएको उनको भनाइ छ।

सञ्जयका अनुसार उनीहरू सबै एउटै गाउँका छिमेकी र आफन्त थिए। फोनमार्फत गाडीको सिट मिलाएर सामूहिक रूपमा यात्रा गरेका थिए। चालक पनि चिनजानकै भएकाले सोही गाडी रिजर्भ गरिएको उनले बताएका छन्। छठ मनाउने उत्साहमा सुरु भएको यात्रा गाउँका धेरै परिवारका लागि जीवनभर नमेटिने पीडामा बदलिएको छ।

चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने घाइते सञ्जयको अनुमान छ। प्रहरीले पनि चालकको थकान वा निद्राका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। यद्यपि दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्नेछ।

दुर्घटनाको सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा प्रारम्भिक टोली परिचालन गरिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली खटिएको थियो। सशस्त्र प्रहरीका टोलीसमेत उद्वारमा परिचालित भएका थिए।

घटनास्थलको भौगोलिक अवस्था निकै भिरालो भएकाले घाइतेको उद्वार, मृतकको शव संकलन र पहिचानको काम चुनौतीपूर्ण बनेको थियो। उद्वार गरिएका घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये केही बालबालिका पनि छन्।

दुर्घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुःख व्यक्त गर्दै घाइतेको प्रभावकारी तथा निःशुल्क उपचार, मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ। पार्टी प्रवक्ता जगदीश खरेलले विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारलाई तत्काल राहत तथा मानवीय सहयोग उपलब्ध गराउन सरकार र सम्बन्धित पक्षसँग अनुरोध गरेका छन्। रास्वपाले पीडित परिवारको अभिभावकत्व ग्रहण गर्दै राहत र सहयोगमा सरकार संवेदनशील हुनुपर्ने जनाएको छ।

पार्टीले आगामी दिनमा यस्ता दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्रभावकारी तथा दीर्घकालीन कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। छठ पर्व मनाउन घर फर्किने क्रममा एउटै गाउँका मानिसहरू एकै दुर्घटनामा परेपछि सर्लाहीको चक्रघट्टा–४ सुन्दरपुर शोकमा डुबेको छ। पर्वको तयारी र पारिवारिक भेटघाटको प्रतीक्षामा रहेका परिवारले एकैपटक आफन्त गुमाएका छन्।

दुर्घटनाले चाडपर्वका बेला हुने लामो दूरीको यात्रामा चालकको आराम, सवारीसाधनको अवस्था र सडक सुरक्षाको प्रश्नसमेत फेरि उठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट