देउसी–भैलो कार्यक्रममा अश्लील नाच्ने दुई युवती पक्राउ

रूपन्देही– तिहारको परम्परागत देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचारविपरीत अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई युवतीलाई नियन्त्रणमा लिएको छ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारमा सार्वजनिक रूपमा आयोजित देउसी–भैलो कार्यक्रममा अमर्यादित नृत्य गरेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत छन्। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले कात्तिक २६ गते राति करिब १२ बजे दुवै जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सार्वजनिक स्थानमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचार प्रतिकूल हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी चन्द्रकिशोर साहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले तिहार तथा देउसी–भैलोजस्ता परम्परागत सांस्कृतिक कार्यक्रमको मौलिकता, सामाजिक सद्भाव र मर्यादा कायम राख्न आग्रह गरेको छ।

यस्ता कार्यक्रममा अमर्यादित तथा अश्लील गतिविधि गर्ने जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट