चिसापानी गढीमा ५०० मिटर तल खस्यो यात्रुले भरिएको हाइस, १० जनाको दर्दनाक मृत्यु !
हेटौँडा– बिहानैको यात्रा, गन्तव्य सर्लाही र गाडीमा सवार थिए १५ जना। तर मकवानपुरको भीमफेदी–६ स्थित चिसापानी गढीमा पुगेपछि उनीहरूको यात्रा भयावह दुर्घटनामा बदलियो। यात्रुबाहक ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खस्दा १० जनाको घटनास्थलमै मृत्यु भयो भने पाँच जना घाइते भए।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस बिहीबार बिहान करिब ५ः४५ बजे दुर्घटनामा परेको हो। गाडीमा चालकसहित १५ जना सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको दृश्य निकै भयावह थियो। सडकबाट सयौँ मिटर तल खसेको गाडीमा सवारमध्ये १० जनाले घटनास्थलमै ज्यान गुमाए। मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका छन्। एउटै दुर्घटनाले दुई बालिकासहित १० जनाको ज्यान लिएको छ। मृतकहरूको नाम र ठेगाना खुल्न बाँकी रहे पनि अधिकांश सर्लाहीका रहेको प्रारम्भिक विवरण छ।
दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन पुरुष र दुई बालक रहेको प्रहरीको प्रारम्भिक विवरण छ। उद्वार गरी हेटौँडा अस्पताल पुर्याइएका घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, सक्षम कुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको खबरपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थल पुगेको थियो। मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीलगायत सुरक्षाकर्मी उद्वारमा खटिएका थिए। घाइतेलाई अस्पताल पु¥याउने र मृतकका शव संकलन गरी हेटौँडा ल्याउने काम गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार हाइस सडकबाट करिब ५०० मिटर तल खसेको हो। घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ।
सर्लाहीका यात्रु बोकेर काठमाडौं पुगेको हाइस फर्किने क्रममा दुर्घटनामा परेको हो। १५ जना सवार गाडीमध्ये १० जनाको ज्यान गएको यस घटनाले चिसापानी गढी क्षेत्रलाई शोकमा डुबाएको छ। दुर्घटना कसरी भयो भन्ने खुल्न सकेको छैन। गाडी अनियन्त्रित भएर भिरमा खसेको हो वा अन्य कुनै कारणले दुर्घटना भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। मृतकको पहिचान, घाइतेको विस्तृत अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

