ह्विस्की–वाइनको भोजमा देखिएपछि आलोचना खेपेका मन्त्री महावीर पुन पत्रकारमाथि नै खनिए, ‘पत्रेकार’ भन्दै उडाए खिल्ली !
राजविराज— तिहारका बेला साथीहरूसँगको भोजमा ह्विस्की, वाइन, कोदोको रक्सी र बियरसहित देखिएको भिडियो सार्वजनिक भएपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आलोचनामा परेका छन्। आलोचनाको जवाफमा उनले आफ्नो फेसबुकमार्फत स्पष्टीकरण दिएका छन्। तर स्पष्टीकरण दिने क्रममा पत्रकारलाई ‘पत्रेकार’ भन्दै व्यङ्ग्य गरेपछि उनको अभिव्यक्ति थप चर्चामा आएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मन्त्री पुन साथीहरूसँगको जमघटमा देखिन्छन्। भोजमा मदिराजन्य पेय पदार्थसमेत रहेको दृश्य सार्वजनिक भएपछि उनको निजी जमघट र मन्त्रीको सार्वजनिक जिम्मेवारीलाई जोडेर आलोचना सुरु भएको थियो।
आलोचनाबीच पुनले फेसबुकमा लामो स्टाटस लेख्दै भोज आयोजना गर्नु आफ्नो गल्ती नै भएको व्यङ्ग्यात्मक शैलीमा स्वीकार गरेका छन्। उनले जीवनमा पहिलोपटक केही साथीहरूसँग भेटघाट गर्ने उद्देश्यले डेरामा सानो भोज खाने योजना बनाएको र यही भोज अन्तिम हुने अवस्था आएको टिप्पणी गरेका छन्।
‘जिन्दगीमा पहिलो पटक केही साथीहरूसँग भेटघाट गरौं भनेर डेरामा सानो भोज खाने सल्लाह गरेको थिएँ। यही भोज नै अन्तिम भोज पनि हुने भयो यार,’ उनले लेखेका छन्, ‘किनभने गन्यमान्य पत्रेकार साथीहरूले त मैले देश नै खतम पारेजस्तो गरेर खुत्ती खन्न थाले त यार।’
पुनले भोज आफ्नो डेरामा नभई मामाको बैठक कोठामा आयोजना गरिएको दाबी गरेका छन्। भोजका लागि आफूले तीन किलो बंगुरको मासु, दुई किलो कुखुराको मासु, साग, धनियाँ, मुला र काँक्रा मात्रै किनेको उनको भनाइ छ। अन्य सामग्री साथीहरूले नै ल्याएको र खाना चित्र तथा लुकेश नामका साथीहरूले पकाएको उनले उल्लेख गरेका छन्।
मदिराबारे पनि उनले साथीहरूले नै ल्याएको स्पष्टीकरण दिएका छन्। ‘ह्विस्की, वाइन, कोदोको रक्सी र बियर साथीहरूले नै ल्याएको हो। सत्ते सत्ते धरोधर्म मैले ढाँटेको होइन,’ उनले लेखेका छन्।
आफूले ठूलो गल्ती गरेको भन्दै माफी मागेको शैलीमा प्रस्तुत भएका पुनले ‘माफ पाऊँ पत्रेकार सरकारहरू ! ठूलो गल्ती भएछ’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। अन्त्यमा ‘कान समातेर उठबस गरें’ भन्दै इमोजीसहित आफ्नो स्टाटस टुंग्याएका छन्।
तर, उनको स्पष्टीकरणमा प्रयोग भएको ‘पत्रेकार’ शब्द र पत्रकारहरूले ‘देशै खतम पारेजस्तो गरेर खुत्ती खन्न थालेको’ भन्ने अभिव्यक्तिले अर्को बहस जन्माएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवनबारे उठेका प्रश्नको जवाफ तथ्य र मर्यादित भाषामा दिनुपर्नेमा पत्रकारलाई होच्याउने शैली अपनाइएको भन्दै आलोचना हुन सक्ने देखिन्छ।
मन्त्री पुन विज्ञान र प्रविधिको क्षेत्रमा आफ्नो योगदानका कारण सार्वजनिक रूपमा परिचित व्यक्तित्व हुन्। उनी सामाजिक सञ्जालमा पनि सक्रिय रहँदै विभिन्न विषयमा आफ्ना धारणा व्यक्त गर्दै आएका छन्। तर यसपटक मदिरासहितको भोजको भिडियो र त्यसपछि आएको उनको प्रतिक्रियाले व्यक्तिगत जमघटभन्दा बाहिर सार्वजनिक पदाधिकारीको जवाफदेहिता, आलोचना सहने संस्कार र पत्रकारप्रतिको व्यवहारलाई समेत बहसमा ल्याएको छ।
भोजमा साथीहरूले मदिरा ल्याएको र आफूले खानेकुरा मात्रै किनेको मन्त्री पुनको दाबी छ। तर सार्वजनिक भएको भिडियो र त्यसबारे उठेका प्रश्नको जवाफमा उनले दिएको अभिव्यक्तिले आलोचनाको विषयलाई थप चर्काएको छ।

लोकप्रिय
ताजा अपडेट
ह्विस्की–वाइनको भोजमा देखिएपछि आलोचना खेपेका मन्त्री महावीर पुन पत्रकारमाथि नै खनिए, ‘पत्रेकार’ भन्दै उडाए खिल्ली !

