छठको चियापानमा रास्वपा नेता–कार्यकर्ताको कुटाकुट, सांसद रहबर अन्सारीकै उपस्थितिमा भयो हानाहान!

बारा— छठ पर्वको शुभकामना आदानप्रदान र चियापानका लागि भेला भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच नै कुटाकुट भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित भलुही बजारमा आयोजित कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद चर्किएपछि हात हालाहाल भएको हो।

झडपमा केही कार्यकर्ता घाइते भएका छन् भने तीन जनाको वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रास्वपा उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बिहीबार दिउँसो बारा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद रहबर अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

करिब ७० जनाको उपस्थिति रहेको कार्यक्रममा छठ पर्वको शुभकामना आदानप्रदान भइरहेको थियो। तर, कार्यक्रमको औपचारिक माहोल केहीबेरमै विवाद र तनावमा बदलियो। प्राप्त विवरणअनुसार निर्माणाधीन श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सुवास मियाँ अन्सारीले पूर्ववडाध्यक्ष असलम देवानमाथि विद्यालय निर्माणमा अनियमितता गरेको आरोप लगाएपछि विवाद सुरु भएको थियो।

देवान यसअघि नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध थिए भने पछिल्लो समय रास्वपामा प्रवेश गरेका थिए। विद्यालय निर्माणमा अनियमितता भएको भन्ने आरोपपछि दुई पक्षबीच भनाभन सुरु भयो। सुरुमा सामान्य वादविवादका रूपमा देखिएको विवाद चर्किँदै गएपछि कार्यकर्ताबीच हात हालाहाल भएको बताइएको छ।

शुभकामना आदानप्रदानका लागि आयोजना गरिएको कार्यक्रम नै झडपमा परिणत भएपछि उपस्थित सहभागीहरूबीच भागदौड र तनावको अवस्था सिर्जना भयो। घटनाक्रमका क्रममा प्रमुख अतिथि सांसद रहबर अन्सारी कार्यक्रमस्थलबाट बाहिरिएका थिए। उनी बाहिरिएपछि आक्रोशित बनेका केही कार्यकर्ता वीरगञ्जस्थित हेल्थ केयर अस्पतालअगाडि समेत एकआपसमा भिडेको सार्वजनिक भिडियोमा देखिएको छ।

अस्पतालअगाडि भएको झडपले कार्यक्रमस्थलमा सुरु भएको विवाद त्यहीँ सीमित नरहेको देखाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। झडपमा घाइते भएकामध्ये तीन जनाको वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ।

घटनाको वास्तविक कारण, झडपमा संलग्न व्यक्तिहरूको भूमिका र विद्यालय निर्माणसम्बन्धी अनियमितताको आरोपबारे थप अनुसन्धान आवश्यक देखिएको छ। छठ पर्वको शुभकामना आदानप्रदानका नाममा आयोजित पार्टीकै कार्यक्रममा कार्यकर्ताबीच कुटाकुट हुनु र विवाद अस्पताल परिसरअगाडिसम्म पुग्नुले रास्वपाको स्थानीय संगठनभित्रको विवाद सतहमा ल्याएको छ।

विद्यालय निर्माणमा अनियमितता भएको आरोपबारे सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया र त्यसको तथ्यगत पुष्टि भने सार्वजनिक सार्वजनिक भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट