दुई वर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिएपछि विवाद, मिलेर १९ वर्षीय युवकमाथि चक्कु प्रहार !
बारा– दुई वर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिएको विषयमा उत्पन्न विवादले उग्र रूप लिँदा बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा एक युवक चक्कु प्रहारबाट घाइते भएका छन्। बालिकालाई ठक्कर दिएको घटनापछि सुरु भएको विवादमा ३५ वर्षीय पुरुष र १५ वर्षीय किशोर मिलेर १९ वर्षीय युवकमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
बुधबार बिहान करिब १० बजे बरियारपुर बजारबाट बरियारपुरतर्फ जाँदै गरेको प्रदेश ०८–००१ प ०३१९ नम्बरको मोटरसाइकलले बाटोमा खेलिरहेकी स्थानीय दुई वर्षीया अनुष्का कुमारी लहेरालाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकल १५ वर्षीय बालकले चलाएका थिए।
मोटरसाइकलको ठक्करबाट बालिकाको दाहिने हातमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। सामान्य उपचारपछि बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
बालिकालाई ठक्कर दिएको विषयलाई लिएर स्थानीयबीच विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा स्थानीय ३५ वर्षीय भीम लहेरा र मोटरसाइकल चालकले मिलेर १९ वर्षीय सुरज साह लहेरामाथि चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक विवरण छ।
चक्कु प्रहारबाट सुरजको पिठ्युँमा चोट लागेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया भर्ना गरिएको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम छ। घटनापछि प्रहरीले चक्कु प्रहारमा संलग्न भएको आरोपमा भीम लहेरा र १५ वर्षीय मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
बालिकालाई ठक्कर दिएको सामान्य घटनाबाट सुरु भएको विवाद चक्कु प्रहारसम्म पुगेपछि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

