१४ जनाको ज्यान जाने भीमफेदी दुर्घटनामा सडक सुरक्षाको भयावह लापरबाहीः चालक रातभर अनिँदो, चेकपोस्ट खाली, अझै भेटिएन यात्रु विवरण
हेटौँडा– मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय माइक्रोबस दुर्घटनाले नेपालको सडक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। रातभर यात्रु संकलन गरेर गाडी चलाएका चालकले पर्याप्त आराम र निद्रा नपाएको प्रारम्भिक निष्कर्ष, प्रहरी चेकपोस्टमा यात्रुको विवरण अभिलेख नहुनु र अनिवार्य भनिएको टाइम कार्ड प्रभावकारी रूपमा लागू नहुनुले दुर्घटना रोकथामका लागि जिम्मेवार निकायको भूमिकामाथि प्रश्न उठाएको हो।
दुर्घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच सदस्यीय समिति गठन गरेको छ। सहायक सीडीओ शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्ट, इन्स्पेक्टर उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन्।
समितिले सवारी साधनको क्षमताभन्दा बढी यात्रु राखिएको थियो वा थिएन, रुट इजाजतको अवस्था, चालकको शारीरिक तथा मानसिक अवस्था र सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ। भविष्यमा यस्ता दुर्घटना रोक्न सम्बन्धित निकायले अपनाउनुपर्ने उपाय पनि प्रतिवेदनमा समेटिने जनाइएको छ।
बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस भीमफेदी–देउराली सडकखण्डअन्तर्गत चिसापानीगढी नजिकै सडकबाट करिब ७०० मिटर तल खसेको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृतकमध्ये सर्लाहीको कबिलासी नगरपालिका–८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको छ। थप तीन जनाको पहिचानबारे प्रारम्भिक विवरणमा स्पष्टता आउन बाँकी छ।
दुर्घटनाको प्रारम्भिक कारणका रूपमा चालकको थकान र निद्रालाई औँल्याइएको छ। मकवानपुरका सीडीओ वसन्त अधिकारीका अनुसार दुर्घटनामा घाइते भएका यात्रुहरूले दिएको जानकारीअनुसार चालकले राति करिब २ बजेदेखि यात्रु संकलन गर्न थालेका थिए। उनी बुधबार सर्लाहीबाट काठमाडौं फर्किएका थिए र पर्याप्त आराम नगरी पुनः सर्लाहीतर्फ यात्रु बोकेर निस्किएका थिए।
‘घाइतेहरूका अनुसार राति २ बजेदेखि चालकले यात्रु संकलन गर्दै हिँडेका रहेछन्। बुधबार सर्लाहीबाट फर्किएको रहेछ,’ सीडीओ अधिकारीले बताए। उनका अनुसार चालक बिहान १ बजेतिरै उठेर यात्रु संकलनमा लागेको हुन सक्ने र पर्याप्त निद्रा नपुगेको देखिन्छ। चालकको थकान दुर्घटनाको जोखिमपूर्ण पक्ष हुन सक्ने उनको प्रारम्भिक आकलन छ।
घाइते यात्रुका अनुसार दुर्घटनास्थल नजिकै केहीबेर रोकिएको गाडी पुनः स्टार्ट गरेर अगाडि बढाउन खोज्दा अनियन्त्रित भई भीरबाट खसेको थियो। यात्रुहरू पनि निदाइरहेको अवस्थामा गाडी दुर्घटनामा परेको घाइते मुकेश यादवले बताएका छन्। तर चालकको थकान नै दुर्घटनाको निर्णायक कारण हो वा अन्य प्राविधिक तथा सडकसम्बन्धी कारण पनि जोडिएका छन् भन्ने विषय छानबिनपछि मात्रै स्पष्ट हुनेछ।
दुर्घटनापछि मृतकको पहिचान गर्नसमेत कठिनाइ भएको थियो। सीडीओ अधिकारीका अनुसार रातिको समयमा प्रहरी चेकपोस्टमा गाडी र यात्रुको विवरण अद्यावधिक गरिएको थिएन। काठमाडौं–हेटौँडा छोटो मार्गअन्तर्गत फर्पिङ, फाखेल, सिस्नेरी, भीमफेदी, भैंसे र हेटौँडा प्रवेश क्षेत्रका प्रहरी इकाइ तथा चेकपोस्टमा समेत दुर्घटनाग्रस्त गाडीका यात्रुको विवरण उपलब्ध थिएन। फर्पिङ प्रहरी चेकपोस्टमा समेत यात्रु विवरण नरहेको उनले बताएका छन्।
सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ५१ ले सार्वजनिक सवारीमा यात्रुको विवरण राख्नुपर्ने व्यवस्था गरेको छ। नियम ५१(१) अनुसार अनुसूची–५८ बमोजिम यात्रु सूची तयार गर्नुपर्छ। बाटोमा थप चढ्ने यात्रुको नामसमेत सूचीमा समावेश गर्नुपर्ने नियम ५१(२) को व्यवस्था छ। त्यस्तो यात्रु सूचीको प्रति बाटोमा पर्ने प्रहरी कार्यालय तथा चेकपोस्टमा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि नियमावलीमा छ। तर दुर्घटनामा परेको गाडीको हकमा यो व्यवस्था पालना भएको देखिएन।
यात्रु सूची राख्ने व्यवस्था कागजमा मात्र सीमित हुँदा दुर्घटनापछि मृतकको पहिचान, घाइतेको विवरण र गाडीमा सवार यात्रुको यकिन संख्या पत्ता लगाउनसमेत कठिनाइ उत्पन्न भएको छ। सार्वजनिक यातायातमा यात्रु अभिलेख राख्ने कानुनी दायित्व पूरा गराउने जिम्मेवारी कसको थियो र चेकपोस्टमा त्यसको अनुगमन किन भएन भन्ने प्रश्न पनि उठेको छ।
त्यस्तै, सवारी साधनको गति र सञ्चालन समय व्यवस्थापन गर्न लागू हुनुपर्ने टाइम कार्डसमेत प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको अधिकारीले बताएका छन्। चालकले लामो दूरीको यात्रा गरेर फर्किएपछि पर्याप्त विश्राम लिए–नलिएको, रातको समयमा कति समय सवारी चलाएको र पुनः यात्रु बोकेर निस्कँदा चालकको अवस्था कस्तो थियो भन्ने विषयमा निगरानी गर्ने संयन्त्र प्रभावकारी देखिएन।
भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको पाईएको छ। यसअघि पनि जोखिमपूर्ण मानिएको उक्त सडकखण्डमा देउराली डाँडामा छुट्टै प्रहरी चेकपोस्ट स्थापना गर्ने प्रयास भए पनि जग्गा उपलब्ध हुन नसक्दा काम अघि बढ्न नसकेको अधिकारीले वताए। यसले जोखिम पहिचान भइसकेको क्षेत्रमा सुरक्षा पूर्वाधार विस्तार किन हुन सकेन भन्ने अर्को प्रश्न जन्माएको छ।
दुर्घटना रोक्न टाइम कार्ड मात्रै पर्याप्त नहुने अधिकारीको भनाइ छ। चालकको काम गर्ने समय र विश्रामको निगरानी, यात्रु सूचीको अनिवार्य अभिलेख, चेकपोस्टमा विवरण अद्यावधिक, सवारीको प्राविधिक अवस्था परीक्षण र जोखिमयुक्त सडकमा नियमित निगरानी आवश्यक देखिएको छ।

