भीमफेदी दुर्घटनाले एक्लिए अवधेशः सिट नपुग्दा छुट्टिए, सधैँका लागि गुमाए गर्भवती श्रीमती, ३ छोरी र २ भाइ! काखे छोरा अस्पतालमा!

मकवानपुर — छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने तयारीमा रहेका अवधेश यादवका लागि बिहीबार बिहान आएको खबर जीवनकै सबैभन्दा ठूलो बज्रपात बन्यो। परिवारका सदस्य चढेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा उनकी गर्भवती श्रीमती, तीन छोरी र दुई भाइको मृत्यु भयो। १४ महिने छोरा सुदीप घाइते भए। एउटै यात्रामा परिवारका छ सदस्य गुमाएका अवधेश अहिले असह्य पीडामा छन्।

ललितपुरको टीकाथलीमा ठेलामा फलफूल व्यापार गर्दै आएका अवधेश छठ पर्व मनाउन परिवारसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरस्थित घर फर्किने तयारीमा थिए। बुधबार साँझ परिवारका सदस्य र गाउँकै आफन्तहरू एउटै गाडीमा घर जाने तयारीमा जुटेका थिए। छठ पूजाका सामग्रीदेखि लुगाफाटासम्म प्याक भइसकेका थिए। तर, गाडीमा सिट नपुगेपछि अवधेश आफैँ भने छुटे। उनले श्रीमती, छोरीहरू र भाइहरूलाई गाडीमा पठाएर आफू पछि आउने योजना बनाएका थिए।

‘गाडीमा नअटाएपछि म भोलितिर आउँछु, तिमीहरू जाँदै गर भनेर पठाएको थिएँ,’ हेटौँडा अस्पताल परिसरमा भावविह्वल हुँदै अवधेशले भनेका थिए, ‘यस्तो हुन्छ भन्ने थाहा थियो भने म पनि बरु त्यही गाडीमा जसरी पनि आउँथेँ।’

परिवारका सदस्य र गाउँलेहरूलाई बिदाइ गरेर छुट्टै यात्रा गर्ने तयारीमा रहेका अवधेशलाई बिहीबार बिहान करिब ५ बजे दुर्घटनाको खबर आयो। त्यसपछि उनका लागि छठको खुसी एकाएक असह्य शोकमा बदलियो।

दुर्घटनामा अवधेशले ३५ वर्षीया गर्भवती श्रीमती पुनमदेवी यादव, १० वर्षीया छोरी अनुकुमारी, सात वर्षीया दीक्षा र पाँच वर्षीया दीपिकालाई गुमाए। उनका सहोदर भाइहरू २६ वर्षीय विकेश यादव र २५ वर्षीय सुबोध यादवको पनि दुर्घटनामा मृत्यु भयो। एउटै परिवारका छ सदस्य गुमाएका अवधेशका १४ महिने छोरा सुदीप भने घाइते भएका छन्।

सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका विकेश र फलफूल व्यापारमा संलग्न सुबोध दुवै अवधेशका सहोदर भाइ थिए। परिवारका सदस्यसँगै गाउँ फर्किने उनीहरूको यात्रा छठको उल्लासमा परिणत हुन पाएन।

घाइते सुदीपलाई उद्वार गरी थप उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल पठाइएको थियो। श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेशका लागि अहिले घाइते छोराको उपचार अर्को ठूलो चिन्ताको विषय बनेको छ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस बिहीबार बिहान करिब ५ः४५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डल छन्। त्यस्तै, चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका गुड्डु यादव, गायत्री देवी यादव, रामदुलार यादव र १५ वर्षीय रोहन यादवको मृत्यु भएको छ। अन्य मृतकमा राकेश यादव, छोटु भनिने रामप्रवेश यादव र सुदेश यादव छन्।

मृतकमध्ये गायत्री देवी गुड्डु यादवकी श्रीमती हुन् भने छोटु भनिने रामप्रवेश यादव राकेश यादवका साला हुन्। दुर्घटनामा घाइते भएका ६ जनामध्ये मुकेश यादव, सक्षमकुमार यादव र देवेन्द्र राय उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन्। ३० वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ।

त्यस्तै, ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रेफर गरिएको मकवानपुर प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये १३ जना एउटै गाउँका थिए। छठ पर्व मनाउन घर फर्किरहेका आफन्त र छिमेकीहरू एउटै दुर्घटनामा परेपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा डुबेको छ। पर्वको तयारीमा रहेका परिवारहरूमा एकैपटक चित्कार र शोक छाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक विवरणमा गाडीमा क्षमताभन्दा बढी यात्रु रहेको र चालक लामो समयदेखि निरन्तर सवारी चलाइरहेको हुन सक्ने आशंका गरिएको छ। तर दुर्घटनाको यकिन कारण अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

अवधेशका लागि अब छठ पर्वको खुसी, परिवारसँगको जमघट र गाउँ फर्किने प्रतीक्षा सबै विगत बनेका छन्। गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका उनी अहिले घाइते छोराको उपचारको आशामा छन्। एउटै यात्राले उनको परिवारका छ सदस्यलाई सधैँका लागि खोसेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट