केराबारीको जंगलमा अर्धनग्न अवस्थामा भेटियो पार्वती लिम्बूको शव, मृत्यु रहस्यमय !

विराटनगर– मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जंगलमा ३१–३२ वर्षीया पार्वती लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको छ। घरबाट करिब एक किलोमिटर टाढा बिहीबार साँझ उनको शव भेटिएपछि घटनाले रहस्यको रूप लिएको छ।

स्थानीयले जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार लिम्बूको शरीरको कम्मरमुनिको भागमा कपडा थिएन। तर, शरीरमा बाहिरी चोटपटक देखिएको छैन।

घटनास्थलमा तत्काल शंकास्पद वस्तुसमेत फेला नपरेको प्रहरीले जनाएको छ। शवको अवस्था र घटनास्थलको प्रकृतिका आधारमा मृत्युको कारण तत्काल यकिन गर्न नसकिएको प्रहरीको भनाइ छ।

विवाहित लिम्बू र उनका पतिबीच पटकपटक विवाद तथा झगडा हुने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन्। प्रहरीले उक्त पारिवारिक विवाद र लिम्बूको मृत्युबीच कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको छ।

तर, अहिलेसम्म कसैलाई दोषी ठहर गर्ने वा मृत्युको कारणबारे निष्कर्ष निकाल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन फरेन्सिक चिकित्सकसहितको टोली घटनास्थल पठाइएको एसपी कटवालले बताएका छन्। प्रहरीले घटनास्थललाई सुरक्षित राखेर आवश्यक प्रमाण संकलन गरिरहेको छ।

शव परीक्षण, फरेन्सिक जाँच र प्रहरी अनुसन्धानबाट मात्रै पार्वतीको मृत्यु कसरी भयो भन्ने खुल्नेछ। अर्धनग्न अवस्थामा शव भेटिनु, शरीरमा बाहिरी चोट नदेखिनु र घरबाट टाढा जंगलमा शव फेला पर्नुले घटनाबारे थप प्रश्न उठाएको छ। प्रहरीले भने अनुसन्धान पूरा नभएसम्म मृत्युको कारणबारे कुनै निष्कर्षमा नपुग्न आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट