साथीले पेट्रोल खन्याएर जिउँदै जलाएका रूपलालको मृ*त्यु! आरोपीको सनसनीपूर्ण बयान—‘जमिनदारसँग रैतिले ठूलो कुरा गरेको सहिनँ’!
काठमाडौँ– सामान्य भनाभनकै क्रममा आफ्नै साथीले शरीरमा पेट्रोल छर्केर आगो लगाउने क्रूर घटनामा गम्भीर घाइते भएका दाङका ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। शरीरको करिब ८५ प्रतिशत भाग जलेका चौधरीले आइतबार बिहान ६ बजेतिर बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा अन्तिम सास लिएका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीले उपचारकै क्रममा चौधरीको मृत्यु भएको पुष्टि गरेका छन्। राजपुर गाउँपालिका–२ मटेरिया निवासी चौधरीमाथि शनिबार दिउँसो आफ्नै छिमेकी तथा साथी ३८ वर्षीय त्रिलोकसिंह कार्कीले पेट्रोल छर्केर आगो लगाएका थिए।
घटना राजपुर गाउँपालिका–२ बेलाको खाल गैरा खेलमैदानमा भएको हो। प्रहरीका अनुसार दुवै जना खेलमैदानमा सँगै बसेर मदिरा सेवन गरिरहेका थिए। मदिरा सेवनपछि सामान्य भनाभन भएको र विवाद बढ्दै जाँदा कार्कीले मोटरसाइकलमा हाल्न बोतलमा ल्याएको पेट्रोल चौधरीको शरीरमा खन्याएर लाइटरले आगो लगाइदिएका थिए।
आगो लागेपछि चौधरी गम्भीर घाइते भए। शरीरको अधिकांश भाग जलेपछि उनलाई सुरुमा लमही अस्पताल पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको थियो। तर, चिकित्सकको प्रयासका बाबजुद उनको ज्यान जोगिन सकेन।
‘जमिनदारसँग रैतिले ठूलो कुरा गरेको सहिनँ’
घटनापछि फरार भएका कार्कीलाई प्रहरीले केही बेरमै लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो। अहिले उनी प्रहरी हिरासतमा छन्।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार प्रारम्भिक बयानका क्रममा कार्कीले आफूलाई ठूलो कुरा गरेको सहन नसकेर चौधरीमाथि आगो लगाएको बताएका छन्।
प्रहरी निरीक्षक बुढाथोकीले कार्कीको भनाइ उद्धृत गर्दै भने, ‘म जमिनदारसँग रैतिले ठूलो कुरा गरेपछि मैले सहन सकिनँ।’ आफ्नै साथीमाथि पेट्रोल खन्याएर आगो लगाएको घटनामा आरोपीले दिएको यो प्रारम्भिक बयानले घटनाको पृष्ठभूमि थप गम्भीर बनाएको छ। यद्यपि घटनाको वास्तविक कारण र विवादको विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
एम्बुलेन्स आउन ढिलाइ हुँदा अस्पताल पुर्याउन २० मिनेट
आगो लगाएर कार्की फरार भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी तत्काल घटनास्थल पुगे पनि एम्बुलेन्स आउन ढिलाइ हुँदा चौधरीलाई करिब २० मिनेटपछि मात्र लमही अस्पताल पठाउन सकिएको प्रहरी निरीक्षक बुढाथोकीले बताएका छन्।
स्थानीयका अनुसार दुवै जनाले राजमार्गनजिकैको खुला चौरमा बसेर मदिरा सेवन गरेका थिए। त्यसक्रममा सामान्य भनाभन भएपछि कार्कीले चौधरीमाथि पेट्रोल छर्केर आगो लगाएका थिए। घटनाको गम्भीरताका कारण चौधरीलाई तत्काल उपचारको आवश्यकता थियो। तर, एम्बुलेन्स ढिलो आउँदा अस्पताल पुर्याउन भएको विलम्बले घटनास्थलको आपत्कालीन उद्वार व्यवस्थामाथि पनि प्रश्न उठाएको छ।
तिहार मनाउन गाउँ आएका थिए कार्की
प्रहरीका अनुसार कार्की काठमाडौंमा सवारीचालकका रूपमा काम गर्दै आएका थिए। उनी तिहार मनाउन गाउँ आएका थिए। प्रारम्भिक अनुसन्धानमा उनकी श्रीमतीले छाडेको र बुवाआमाको निधन भइसकेको विवरण पनि खुलेको प्रहरीले जनाएको छ।
घटनापछि पक्राउ परेका कार्कीलाई आइतबार म्याद थपका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ। अदालतबाट म्याद थप भएपछि थप अनुसन्धान गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।
सामान्य भनाभनबाट सुरु भएको विवाद पेट्रोल छर्केर आगो लगाउने जघन्य हिंसामा परिणत भयो। आफ्नै साथीको शरीरमा आगो लगाउने घटनाले एक व्यक्तिको ज्यान लिएको छ। अब प्रहरीले घटनाको कारण, विवादको प्रकृति र आरोपीको भूमिकाबारे अनुसन्धान अघि बढाएको छ।
लोकप्रिय
ताजा अपडेट
साथीले पेट्रोल खन्याएर जिउँदै जलाएका रूपलालको मृ*त्यु! आरोपीको सनसनीपूर्ण बयान—‘जमिनदारसँग रैतिले ठूलो कुरा गरेको सहिनँ’!

