आफ्नै पार्टीका सांसदको विदेश भ्रमणमा आशिका तामाङको प्रश्न—राज्यको लाखौँ खर्च गरेर विदेश घुम्ने सांसदले जनतालाई उपलब्धि किन बताउँदैनन्?
काठमाडौँ– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा जान लागेका बेला पार्टीकै सांसद आशिका तामाङले सांसदहरूको विदेश भ्रमणको औचित्य, पारदर्शिता र त्यसबाट प्राप्त हुने उपलब्धिमाथि प्रश्न उठाएकी छिन्।
राज्यको ढुकुटीबाट लाखौँ रुपैयाँ खर्च गरेर विदेश भ्रमण गर्ने सांसदहरूले भ्रमणको उद्देश्य र उपलब्धिबारे जनतालाई जानकारी दिनुपर्ने उनको माग छ। उनले आफ्नै पार्टीभित्रका सांसदहरूलाई समेत को, कुन उद्देश्यले र कति पटक विदेश भ्रमणमा गएको भन्ने जानकारी नहुने अवस्था रहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तामाङले सांसदहरू विभिन्न संसदीय समितिको नाममा विदेश भ्रमणमा जाने र फर्किने गरे पनि त्यसको जानकारी सम्बन्धित समितिकै अन्य सदस्यलाई समेत नहुने गरेको दाबी गरेकी छिन्।
‘राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू केका लागि विदेश जानुभयो भनेर,’ उनले लेखेकी छिन्।
उनले विदेश भ्रमणको उद्देश्य र त्यसबाट देश, जनता तथा स्वयं सांसदहरूले प्राप्त गर्ने उपलब्धिबारे स्पष्ट पार्नुपर्ने बताएकी छिन्। ‘विदेश भ्रमण केका लागि गइन्छ ? राज्यको लाखौँ खर्च गरेर गरिएको विदेश भ्रमणबाट जनता र सांसदले पाउने उपलब्धि के हो ? सोको स्पष्टता जनतासामु आउनुपर्छ,’ उनको प्रश्न छ।
तामाङले भ्रमणलाई उपलब्धिमूलक बनाउन नसक्ने हो भने त्यस्ता भ्रमणको औचित्यमाथि नै प्रश्न उठ्ने टिप्पणी गरेकी छिन्। उनले समुद्र किनारमा फोटो खिच्ने र टिकटक बनाउने गतिविधिलाई विदेश भ्रमणको उपलब्धिका रूपमा व्यंग्य गरेकी छिन्।
‘होइन भने उही समुद्रको तटस्थलमा गएर फोटो खिच्नु र टिकटक बनाउनु मात्र हो भन्ने कुरा सांसदज्यूहरूको सामाजिक सञ्जालको अपडेटबाट थाहा हुन्छ,’ उनले लेखेकी छिन्। पार्टीभित्रै प्रश्न गर्दा पनि स्पष्ट जवाफ नपाउने गरेको गुनासोसमेत उनले गरेकी छिन्। ‘पार्टीभित्र प्रश्न गर्दा सिधा उत्तर नै आउँदैन, घुमाइफिराई उत्तर दिनुहुन्छ, आफूले बुझ्दिनँ फेरि,’ तामाङको भनाइ छ।
चीन भ्रमणमा रास्वपाका २० नेता तथा सांसद
तामाङले प्रश्न उठाएको समयमा नै रास्वपाका २० नेता तथा सांसदको टोली चीन भ्रमणमा जान लागेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली आगामी कात्तिक २९ गते चीन प्रस्थान गर्ने कार्यक्रम छ।
टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू सहभागी छन्। टोलीले चीनको राजधानी बेइजिङसहित हाङचाउ र सिचुवानलगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट, औद्योगिक तथा प्राविधिक क्षेत्रको अवलोकन र विभिन्न संस्थासँग छलफल गर्ने कार्यतालिका रहेको छ। भ्रमणलाई दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य तथा प्रविधि र विकासका क्षेत्रमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको छ।
तर, सांसद तामाङले उठाएको प्रश्नले विदेश भ्रमणको उद्देश्य तय गर्नु मात्रै पर्याप्त नभई त्यसमा खर्च भएको सार्वजनिक रकमको औचित्य र भ्रमणपछि हासिल भएका उपलब्धि पनि सार्वजनिक गर्नुपर्ने विषयलाई फेरि बहसमा ल्याएको छ।
विदेश भ्रमणमा जाने सांसदको संख्या, भ्रमणको खर्च, त्यसको उद्देश्य, भ्रमणबाट भएका उपलब्धि र त्यसको कार्यान्वयनबारे सार्वजनिक विवरण उपलब्ध गराउनु जवाफदेहिताको विषय हो। भ्रमणका क्रममा भएका भेटघाट र सम्झौताले देशलाई के फाइदा पु¥याए भन्ने विवरण जनताले थाहा पाउनुपर्ने माग तामाङले अघि सारेकी छन्।
सत्तारुढ दलकै सांसदले आफ्नै पार्टीका नेताहरूको विदेश भ्रमणबारे प्रश्न उठाएपछि रास्वपाले यस विषयमा कस्तो जवाफ दिन्छ भन्ने चासोसमेत बढेको छ। विदेश भ्रमणको खर्च र परिणाम सार्वजनिक गर्ने अभ्यास पनि स्थापित हुन्छ कि हुँदैन भन्ने प्रश्न अब पार्टी र सरकार दुवैतर्फ तेर्सिएको छ।
यो पनि,
सप्तरी–१ की सांसद पुष्पाकुमारी चौधरी ११ दिने चीन भ्रमणमा, सीपीसीले के देखाउँदैछ रास्वपा टोलीलाई?

