ब्राउन सुगर तस्करीमा बाबु–आमाले छोरालाई समेत बनाए ‘कुरियर’, रंगेलीबाट भारतीय परिवारै पक्राउ
विराटनगर— भारतबाट नेपालतर्फ प्रतिबन्धित लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) तस्करी गर्न बाबु, आमा र छोराकै संलग्नता रहेको खुलेको छ। सीमा क्षेत्रको सुरक्षा अवस्था बुझेर फर्किएका बाबुले श्रीमती र छोरालाई लागुऔषध बोकेर नेपाल पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
मोरङको रंगेलीस्थित चोप्राहा सीमा नाकाबाट २९ ग्राम ४८० मिलिग्राम ब्राउन सुगरसहित भारतीय परिवारका तीनै सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार प्रान्त, अररिया जिल्ला, बोका मोजदार–२ मुस्लिम टोलका ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला र १८ वर्षीय छोरा करण छन्। उनीहरूलाई सोमबार साँझ रंगेली नगरपालिका–४ स्थित चोप्राहा बोर्डरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी सन्तोष श्रेष्ठका अनुसार लागुऔषध नियन्त्रण ब्युरो विराटनगर, इलाका प्रहरी कार्यालय रंगेली र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
तीनै जना भारतबाट पैदल नेपालतर्फ आउँदै गर्दा प्रहरीले निगरानी गरेको थियो। उनीहरूको गतिविधि शंकास्पद देखिएपछि चेकजाँच गर्ने क्रममा सकुन्तलाले दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले सकुन्तलाको साथबाट २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो। लागुऔषध भेटिएपछि सकुन्तला र उनका छोरा करणलाई तत्काल नियन्त्रणमा लिइएको थियो। त्यसपछि पछि–पछि नेपालतर्फ आउँदै गरेका रघुनाथ भने भाग्न खोजेका थिए। प्रहरीले उनलाई लखेटेर पक्राउ गरेको डीएसपी श्रेष्ठले बताए।
पहिले सीमा क्षेत्रको अवस्था बुझेर फर्किएका थिए बाबु
प्रहरीको प्रारम्भिक अनुसन्धानले यो घटना आकस्मिक ओसारपसार नभई योजनाबद्ध रूपमा भएको संकेत गरेको छ। प्रहरीका अनुसार रघुनाथले सुरुमा एक्लै नेपालतर्फ आएर सीमा क्षेत्रको अवस्था र सुरक्षाकर्मीको गतिविधि नियालेका थिए। तत्काल सुरक्षाकर्मीको निगरानी वा आवागमन नरहेको यकिन गरेपछि उनी भारत फर्किएका थिए।
त्यसपछि उनले श्रीमती र छोरालाई लागुऔषधसहित नेपालतर्फ पठाएको प्रहरीको भनाइ छ। आमा र छोरा लागुऔषध बोकेर सीमा पार गर्दै गर्दा प्रहरीको निगरानीमा परेका थिए। उनीहरू पक्राउ परेको थाहा पाएपछि पछि–पछि आउँदै गरेका रघुनाथ भाग्न खोजे पनि प्रहरीको नियन्त्रणमा परे।
प्रहरीले उनीहरू लामो समयदेखि भारतबाट नेपालतर्फ लागुऔषध आपूर्ति गर्ने धन्दामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। यद्यपि उनीहरूले कहिलेदेखि, कति पटक र कसलाई लागुऔषध आपूर्ति गर्दै आएका थिए भन्ने विस्तृत विवरण अनुसन्धानबाट खुल्न बाँकी छ।
परिवारकै सदस्य फरक भूमिकामा परिचालन
यो घटनामा बाबुले सीमा क्षेत्रको सुरक्षा अवस्था बुझ्ने र आमा तथा छोराले लागुऔषध बोकेर नेपाल प्रवेश गर्ने भूमिका खेलेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। परिवारका सदस्यलाई फरक–फरक भूमिकामा परिचालन गरेर सुरक्षाकर्मीको निगरानी छल्ने प्रयास भएको हुन सक्ने प्रहरीको अनुमान छ।
सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले नियमित निगरानी र विशेष सूचनाका आधारमा कारबाही गर्दै आएको छ। तर, सीमापारिबाट लागुऔषध ल्याउने व्यक्तिलाई पक्राउ गर्नु मात्र पर्याप्त हुँदैन। त्यसको स्रोत, नेपालमा पु¥याउने माध्यम, खरिदकर्ता, वितरक र कारोबारबाट लाभ लिने मुख्य व्यक्तिसम्म अनुसन्धान विस्तार गर्नु चुनौतीपूर्ण देखिन्छ।
रंगेलीमा भएको यो पक्राउले खुला सीमाको दुरुपयोग गर्दै लागुऔषध आपूर्ति गर्ने समूहले परिवारका सदस्यलाई समेत परिचालन गर्न सक्ने जोखिम उजागर गरेको छ। विशेषगरी युवालाई लागुऔषधको कारोबार र प्रयोगबाट जोगाउन सीमावर्ती क्षेत्रमा आपूर्ति सञ्जाल पहिचान र नियन्त्रणको आवश्यकता थप देखिएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषधसहित इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने तयारीसहित प्रहरी निरीक्षक अशोककुमार झाको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लोकप्रिय
अदालतले पुनर्बहाली गरे पनि दानबहादुरलाई काम गर्न नदिने रास्वपा सहप्रवक्ताको चेतावनी, अर्को बाटो खोज्ने संकेत

