औषधि राख्ने फ्रिजमा ह्विलचेयर भेटिएपछि स्वास्थ्य मन्त्री सचिवमाथि खनिइन्, ‘सामान्य व्यवस्थापन पनि गर्न सक्नुहुन्न?’

जनकपुर– औषधि सुरक्षित राख्न प्रयोग गरिने फ्रिजभित्र ह्विलचेयर भेटिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता मधेश प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादवमाथि आक्रोशित भएकी छिन्। स्वास्थ्य संस्थाको अनुगमनका क्रममा जनकपुरको मुजेलियास्थित मधेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्टोरमा देखिएको अव्यवस्थाप्रति असन्तुष्टि जनाउँदै मन्त्री मेहताले सचिवलाई स्वास्थ्य सामग्रीको सामान्य व्यवस्थापनसमेत गर्न नसकेको भन्दै प्रश्न गरेकी हुन्।

छठ पर्व मनाउन तराई–मधेश पुगेकी मन्त्री मेहताले आफ्नो भ्रमणलाई स्वास्थ्य संस्थाको अनुगमनसँग पनि जोड्दै सरकारी स्वास्थ्य सेवा प्रदायक कार्यालयहरूको निरीक्षण गरेकी थिइन्। सोही क्रममा औषधि भण्डारणका लागि राखिएको फ्रिजभित्र ह्विलचेयर राखिएको देखेपछि उनले प्रदेश स्वास्थ्य सचिव यादवसँग जवाफ मागेकी थिइन्।

‘फ्रिज औषधि राख्न हो कि? ह्विलचेयर यो सामान्य कुराहरू पनि तपाईंहरू व्यवस्थापन गर्न सक्नुहुन्न? प्रदेशको स्वास्थ्य व्यवस्थापनको जिम्मा सचिवलाई हुन्छ, तर तपाईंले आवश्यकताअनुसारको व्यवस्थापन नै गर्न सक्नुभएको छैन,’ मन्त्री मेहताले सचिव यादवलाई भनेकी थिइन्।

औषधि सुरक्षित राख्नुपर्ने फ्रिजमा ह्विलचेयर भेटिनुले स्वास्थ्य सामग्रीको भण्डारण र व्यवस्थापनमा गम्भीर कमजोरी रहेको संकेत गरेको मन्त्रीको भनाइ थियो। सरकारी स्वास्थ्य निकायमा आवश्यक सामग्रीको उचित व्यवस्थापन हुन नसकेको विषयमा उनले सचिवलाई जिम्मेवारीबोध गर्नसमेत सचेत गराएकी थिइन्।

अनुगमनका क्रममा मन्त्री मेहताले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित प्रादेशिक अस्पताल जनकपुरको सेवा अवस्था, कर्मचारी दरबन्दी, औषधि अभाव, बिरामीको चाप र अस्पतालको स्तरोन्नतिका विषयमा पनि चासो राखेकी थिइन्।

प्रतिनिधिसभा सदस्य राजकिशोर महतोसहितको टोलीले अस्पतालको अवस्था र प्रतिष्ठानका चुनौतीबारे जानकारी लिएको थियो। मन्त्री मेहताले प्रादेशिक अस्पतालको सेवा थप प्रभावकारी बनाउन निर्देशन दिँदै सरसफाइदेखि उपचार सेवासम्म सुधार गर्नुपर्नेमा जोड दिइन्। उनले अस्पताललाई एक महिनाभित्र सरसफाइ र सेवा प्रवाहका हिसाबले चुस्त–दुरुस्त बनाउन निर्देशन दिएकी छिन्।

छलफलमा प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह र रजिस्ट्रार डा. विनोदकुमार यादवले प्रतिष्ठानको शैक्षिक गतिविधि, अस्पताल सञ्चालन र आवश्यक पूर्वाधार तथा जनशक्तिका चुनौतीबारे जानकारी गराएका थिए।

रजिस्ट्रार यादवका अनुसार प्रादेशिक अस्पतालमा २०० शैय्याको स्वीकृति रहे पनि बिरामीको चापका कारण दैनिक रूपमा ५०० शैय्यासम्मको उपचार सेवा व्यवस्थापन गर्नुपर्ने अवस्था छ। स्वीकृत शैया र वास्तविक बिरामीको चापबीच ठूलो अन्तर रहेकाले उपलब्ध पूर्वाधार, जनशक्ति र स्रोतसाधनले सेवा सञ्चालन गर्न कठिनाइ भइरहेको उनले मन्त्रीसमक्ष बताएका थिए।

अस्पतालका निर्देशक डा. जामुन सिंहले पनि बढ्दो जनसंख्या र बिरामीको चापलाई धान्न सक्ने गरी अस्पतालको भौतिक संरचना विस्तार गर्न सरकारसँग आग्रह गरे। उनका अनुसार मधेश प्रदेशको जनसंख्यालाई ध्यानमा राखेर प्रादेशिक अस्पताललाई कम्तीमा ५०० शैय्याको भौतिक पूर्वाधारसहित स्तरोन्नति गर्न आवश्यक छ।

‘मधेशबाहेक हरेक प्रदेशमा एक हजार शैयाको अस्पताल बनाउने योजना अनुरूप मधेशमा पनि सोहीअनुसारको भौतिक पूर्वाधार निर्माण गरिदिन अनुरोध छ। बरु हामी प्रदेश सरकारबाट दरबन्दीको माग गर्छौं, तर मधेशको जनसंख्यालाई धान्ने गरी अस्पतालको भौतिक संरचना निर्माण गरिदिनुपर्‍यो,’ निर्देशक सिंहले मन्त्रीसमक्ष आग्रह गरेका थिए।

अस्पताल प्रशासनले भौतिक संरचना विस्तारसँगै आवश्यक जनशक्ति र दरबन्दी व्यवस्थापन हुन नसके उपचार सेवाको गुणस्तर सुधार गर्न कठिन हुने जनाएको छ। बिरामीको चाप बढ्दै जाने तर पूर्वाधार र जनशक्ति सोही अनुपातमा विस्तार नहुने अवस्थाले अस्पतालको सेवा व्यवस्थापनमा चुनौती थपिएको छ।

मन्त्री मेहताले प्रादेशिक अस्पतालमा विशेषज्ञ उपचार सेवा विस्तार गर्ने तयारीबारे पनि जानकारी गराइन्। उनका अनुसार किड्नी उपचार केन्द्र र क्यान्सर उपचार केन्द्र सञ्चालन गरी विशेषज्ञ सेवा उपलब्ध गराउने योजना अघि बढाइएको छ। यसबाट मधेशका बिरामीलाई जटिल रोगको उपचारका लागि अन्य प्रदेश वा काठमाडौं धाउनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।

छलफलमा अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र सर्वसुलभ बनाउने, भौतिक पूर्वाधार विकास गर्ने तथा उपचार सेवाको गुणस्तर अभिवृद्धि गर्ने विषयमा जोड दिइएको थियो। आवश्यक सेवा तथा सुविधा विस्तारका लागि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

तर औषधि राख्ने फ्रिजभित्र ह्विलचेयर भेटिएको घटनाले स्वास्थ्य संस्थाको व्यवस्थापनमा रहेको कमजोरीलाई अनुगमनकै क्रममा उजागर गरेको छ। अर्कोतर्फ, २०० शैय्याको स्वीकृति भएको अस्पतालले ५०० शैय्यासम्मका बिरामीको उपचार गर्नुपर्ने अवस्था छ। यी दुई दृश्यले मधेशको स्वास्थ्य सेवा प्रणालीमा देखिएका फरक प्रकृतिका समस्या देखाउँछन्—एकातिर उपलब्ध सामग्रीको सामान्य व्यवस्थापनमा प्रश्न छ भने अर्कोतिर बिरामीको चापअनुसार पूर्वाधार र जनशक्ति विस्तार हुन सकेको छैन।

अब मन्त्रीको एकमहिने निर्देशनपछि प्रादेशिक अस्पतालको सरसफाइ र सेवा प्रवाहमा कस्तो सुधार आउँछ, औषधि तथा स्वास्थ्य सामग्रीको भण्डारण व्यवस्थित हुन्छ कि हुँदैन र ५०० शैय्याको पूर्वाधार विस्तारको माग कार्यान्वयनमा जान्छ कि जाँदैन भन्ने विषय महत्वपूर्ण हुनेछ। अनुगमनमा व्यक्त असन्तुष्टि र निर्देशनभन्दा पनि त्यसको कार्यान्वयनले मधेशको स्वास्थ्य सेवामा वास्तविक परिवर्तन आएको छ कि छैन भन्ने निर्धारण गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट