मोदीसँग निर्णायक वार्ताको तयारीमा बालेन, अमित शाहदेखि अजित डोभालसम्मसँग भेट, दुईदिने भारत भ्रमणमा महत्वपूर्ण सम्झौताको अपेक्षा
काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र साह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका महत्वपूर्ण विषय, आर्थिक सहयोग, हवाई सम्पर्क विस्तार र दुई देशबीच लामो समयदेखि छलफलमा रहेका विभिन्न एजेन्डामा सहमति जुटाउने तयारी गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रमणका क्रममा लामो समयदेखि छलफलमा रहेका महत्वपूर्ण विषय टुंगो लाग्ने दाबी गरेको छ। परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अधिकारीहरूका अनुसार प्रधानमन्त्री साहको प्रारम्भिक भ्रमण तालिका तयार भइसकेको छ। भ्रमणको मुख्य केन्द्रबिन्दु भारतीय प्रधानमन्त्री मोदीसँग हुने द्विपक्षीय वार्ता र त्यसबाट निस्कने सहमति हुनेछ।
प्रधानमन्त्री साह मंसिर ६ गते दिउँसो नेपाल वायुसेवा निगमको उडानबाट काठमाडौं हुँदै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन्। सोही दिन दिल्ली अवतरण गरेपछि भारतीय सरकारका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। मंसिर ७ गते औपचारिक राजकीय स्वागत, प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता, संयुक्त पत्रकार सम्मेलन र राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटपछि उनी नेपाल फर्कनेछन्।
दिल्लीस्थित नेपाली अधिकारीहरूका अनुसार प्रधानमन्त्री साहलाई विमानस्थलमा भारतको केन्द्रीय सरकारका मन्त्रीले स्वागत गर्ने तयारी छ। त्यसपछि उनी भारत भ्रमणका क्रममा बस्ने होटलतर्फ जानेछन्। उनको बसाइ ताज महल (ताजमान सिंह) वा ताज प्यालेस होटलमध्ये एकमा हुने बताइएको छ। दुवै होटल इन्डियन होटल्स कम्पनी लिमिटेडअन्तर्गत सञ्चालित पाँचतारे ताज ब्रान्डका होटल हुन्।
मंसिर ६ गते साँझ नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री साहको सम्मानमा रात्रिभोज आयोजना गर्नेछ। त्यसअघि र त्यसपछि भारतीय सरकारका प्रभावशाली अधिकारीहरूले प्रधानमन्त्री साहसँग भेट गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री साहले भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री बसेकै होटलमा साँझ भेट गर्ने कार्यक्रम छ। गृहमन्त्री अमित शाह र राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग पनि सोही दिन होटलमै भेटवार्ता हुने नेपाली अधिकारीहरूले बताएका छन्।
यी भेटवार्तालाई दुई देशबीचको राजनीतिक, कूटनीतिक र सुरक्षा सम्बन्धका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ। विशेषगरी सीमा व्यवस्थापन, सुरक्षा सहकार्य, आपसी हितका विषय तथा नेपाल–भारत सम्बन्धका समसामयिक मुद्दामा कुराकानी हुन सक्ने अपेक्षा गरिएको छ। यद्यपि कुन विषयमा कस्तो सहमति वा निर्णय हुने भन्ने औपचारिक विवरण सार्वजनिक भइसकेको छैन।
मंसिर ७ गते बिहान प्रधानमन्त्री साहको सम्मानमा भारतको राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा गार्ड अफ अनरको कार्यक्रम राखिएको छ। भारतीय प्रधानमन्त्री मोदी पनि उक्त कार्यक्रममा सहभागी हुनेछन्। राजकीय भ्रमणको औपचारिक सुरुवात मानिने यस समारोहपछि प्रधानमन्त्री साह दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री साह होटल फर्किएर भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। आर्थिक सहयोग, विकास साझेदारी र नेपालमा सञ्चालित भारतीय सहयोगका परियोजनासम्बन्धी विषयमा यस भेटमा छलफल हुन सक्नेछ।
मोदीसँग ‘वान प्लस फोर’ र ‘वान प्लस फोर्टिन’ वार्ता
प्रधानमन्त्री साहको भ्रमणको सबैभन्दा महत्वपूर्ण कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने द्विपक्षीय भेटवार्ता हो। मंसिर ७ गते बिहान हैदरावाद हाउसमा मोदीले शाहका लागि दिवाभोज आयोजना गर्ने कार्यक्रमसमेत तय भएको छ।
दिल्लीस्थित कूटनीतिक स्रोतका अनुसार मोदी र शाहबीच सुरुमा ‘वान प्लस फोर’ ढाँचामा छलफल हुनेछ। यसमा दुवै देशका प्रधानमन्त्रीसँगै चार–चार जना सहयोगी सहभागी हुनेछन्। प्रधानमन्त्रीहरूबीच सीमित प्रतिनिधिमण्डलको उपस्थितिमा हुने यस बैठकमा द्विपक्षीय सम्बन्धका संवेदनशील तथा प्राथमिकताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
त्यसपछि ‘वान प्लस फोर्टिन’ ढाँचामा औपचारिक द्विपक्षीय बैठक हुनेछ। यसमा दुवै देशका प्रधानमन्त्रीसहित अन्य १४–१४ जना सदस्य रहेको प्रतिनिधिमण्डल सहभागी हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
यो बैठकलाई भ्रमणको सबैभन्दा महत्वपूर्ण कूटनीतिक कार्यक्रमका रूपमा हेरिएको छ। यसमा नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहेका विषय, आर्थिक सहयोग, विकास परियोजना, व्यापार, पारवहन, ऊर्जा सहकार्य र हवाई सम्पर्क विस्तारलगायतका एजेन्डामा छलफल हुने अपेक्षा गरिएको छ। छलफलबाट सहमति जुटेका विषयमा सम्झौता वा समझदारीपत्र आदानप्रदान हुन सक्ने सम्भावना पनि छ।
नेपाल र भारतबीच राजनीतिक तथा कूटनीतिक तहमा नियमित संवाद हुँदै आए पनि कतिपय महत्वपूर्ण विषय लामो समयदेखि निष्कर्षमा पुग्न सकेका छैनन्। प्रधानमन्त्री साहको भ्रमणलाई ती विषयलाई उच्च राजनीतिक तहबाट सम्बोधन गर्ने अवसरका रूपमा हेरिएको छ।
आर्थिक सहयोग र हवाई सम्पर्क विस्तार प्राथमिकतामा
प्रधानमन्त्री साहको भ्रमणका क्रममा आर्थिक सहयोग प्याकेज र हवाई सम्पर्क विस्तारका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। नेपालले पूर्वाधार विकास, ऊर्जा, सडक तथा अन्य विकास आयोजनामा भारतीय सहयोग विस्तार गर्न चाहेको छ। त्यस्तै, दुई देशबीच हवाई सम्पर्क सहज र प्रभावकारी बनाउने विषय पनि छलफलको सम्भावित एजेन्डामा छ।
नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र क्षेत्रीय उडान सञ्चालनका विषयमा भारतसँग सहजीकरण आवश्यक पर्ने भएकाले यस विषयलाई पनि द्विपक्षीय छलफलमा उठाउन सकिने अधिकारीहरूको अपेक्षा छ। यद्यपि कुन हवाई मार्ग वा परियोजनाबारे ठोस सहमति हुने भन्ने विवरण सार्वजनिक भएको छैन।
दुवै प्रधानमन्त्रीले नेपालमा भारतीय सहयोगमा निर्माण सम्पन्न भएका केही आयोजनाको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्। यसले विकास साझेदारीलाई भ्रमणको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गर्नेछ।
तर, भ्रमणको उपलब्धि केवल नयाँ परियोजनाको घोषणा वा उदघाटनमा सीमित हुन्छ कि लामो समयदेखि रोकिएका र छलफलमा रहेका विषयमा ठोस निर्णय हुन्छ भन्ने चासो पनि छ। नेपाल–भारत सम्बन्धमा विगतदेखि उठ्दै आएका व्यापार, पारवहन, सीमा, ऊर्जा र पूर्वाधारसम्बन्धी मुद्दामा कस्तो प्रगति हुन्छ भन्ने विषयले भ्रमणको वास्तविक उपलब्धि निर्धारण गर्नेछ।
राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेट, भारतीय विदेश सचिवको ब्रिफिङ
प्रधानमन्त्री साहले मंसिर ७ गते भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ। मोदीसँगको द्विपक्षीय बैठक र संयुक्त पत्रकार सम्मेलनपछि राष्ट्रपति मुर्मुसँग भेट गर्ने गरी भ्रमण तालिका बनाइएको छ।
प्रधानमन्त्री तहको औपचारिक बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। तर पत्रकार सम्मेलनमा पत्रकारहरूले प्रश्न सोध्न पाउने प्रश्नोत्तर सत्र भने नराखिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
भ्रमणको अन्तिम चरणमा भारतीय विदेश सचिव विक्रम मिस्रीले सञ्चारमाध्यमलाई भ्रमणका उपलब्धि र छलफलका विषयबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि प्रधानमन्त्री साह नेपाल फर्कनेछन्।
भ्रमण खर्चको व्यवस्थापन
प्रधानमन्त्री साहको भ्रमण टोलीमा नेपालबाट १५ जना अधिकारी सहभागी हुनेछन्। उनीहरूको भ्रमण, बसोबास र खानपानको व्यवस्था भारत सरकारले बेहोर्ने गरी कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्। भ्रमण टोलीका बाँकी सदस्यको खर्च भने नेपाल सरकारले बेहोर्नेछ।
दुईदिने भारत भ्रमण सकेर प्रधानमन्त्री साह मंसिर ७ गते दिउँसो ४ः५० बजे नेपाल वायुसेवा निगमको उडानबाट काठमाडौं फर्कने कार्यक्रम छ। प्रधानमन्त्री बनेपछि साहको यो पहिलो भारत भ्रमण भएकाले यसलाई दुई देशबीचको सम्बन्धको आगामी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
भारतसँगको सम्बन्धमा नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र समानताका आधारमा सहकार्य अघि बढाउने विषय पनि भ्रमणको राजनीतिक सन्दर्भसँग जोडिएको छ। भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय बैठक र सम्भावित सम्झौताले नेपाल–भारत सम्बन्धमा कस्तो नयाँ गति दिन्छ भन्ने चासो छ। विशेषगरी लामो समयदेखि छलफलमा रहेका विषयमा ठोस सहमति जुटाउन सके प्रधानमन्त्री साहको पहिलो भारत भ्रमण औपचारिक कूटनीतिक कार्यक्रमभन्दा बढी उपलब्धिमूलक बन्न सक्नेछ।
लोकप्रिय
ताजा अपडेट
औषधि राख्ने फ्रिजमा ह्विलचेयर भेटिएपछि स्वास्थ्य मन्त्री सचिवमाथि खनिइन्, ‘सामान्य व्यवस्थापन पनि गर्न सक्नुहुन्न?’

