आशिका तामाङले केपी खनाललाई सोधिन— इन्टरनेट नभएका नागरिकले गुनासो कसरी गर्ने ?

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई सांसदबीचको एउटा सामान्य फोन सम्पर्कको प्रसंगले जनप्रतिनिधिको पहुँच र जवाफदेहिताबारे प्रश्न उठाएको छ। धादिङ–१ बाट निर्वाचित सांसद आशिका तामाङले कैलाली–२ बाट निर्वाचित आफ्नै पार्टीका सांसद केपी खनालसँग सम्पर्क गर्न खोज्दा ह्वाट्सएपबाट मात्रै कल गर्न भनिएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी छिन्।

उनको प्रश्न छ—जनताबाट निर्वाचित सांसदसँग कुरा गर्न पनि इन्टरनेट चाहिने हो भने सामान्य मोबाइल बोक्ने नागरिकले आफ्ना समस्या कसरी सुनाउने? तामाङले एउटा जनसरोकारको विषय लिएर सांसद खनाललाई फोन गरेको बताएकी छिन्। तर फोन खनालले नभई उनका स्वकीय सचिवले उठाए। सांसदसँग कुरा गराइदिन आग्रह गर्दा स्वकीय सचिवले ह्वाट्सएपमा कल गर्न भनेको उनको भनाइ छ।

तामाङले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘खै भाइ केपी खनाल भाइलाई फोन दिनुस् भनेको त ह्वाट्सएपमा कल गर्नुस्, ह्वाट्सएपबाहेक अरूमा कल उठाउनुहुन्न रे !’ आफूले पाएको जवाफले तीनछक परेको उल्लेख गर्दै उनले जनप्रतिनिधिको सम्पर्क प्रणालीमाथि प्रश्न उठाएकी छिन्।

उनको असन्तुष्टि कुनै एकपटक फोन नउठाइएको विषयमा मात्रै सीमित छैन। इन्टरनेटको पहुँच नभएका र सामान्य मोबाइल प्रयोग गर्ने नागरिकले आफ्ना जनप्रतिनिधिसमक्ष गुनासो पु¥याउने बाटो के हो भन्ने उनको मुख्य चासो देखिन्छ।

‘एउटा जनताबाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न कम्युनिकेसन गर्न नेट चाहिँदो रहेछ भने जो सर्वसाधारण नागरिक, जो टुकटुके मोबाइल चलाउनुहुन्छ, ती गरिब निमुखाले आफ्नो नेतासम्म गुनासो गर्न कसरी नेट चलाउन सक्नुहुन्छ?’ तामाङले प्रश्न गरेकी छिन्।

यो प्रसंगको अर्को महत्वपूर्ण पक्ष के हो भने प्रश्न उठाउने आशिका तामाङ र जसको सम्पर्क शैलीमाथि प्रश्न उठाइएको छ, ती केपी खनाल दुवै रास्वपाकै सांसद हुन्। तामाङ धादिङ–१ बाट निर्वाचित भएकी हुन् भने खनाल कैलाली–२ बाट १९ हजार ५७ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

अर्थात्, यो फरक राजनीतिक दलका नेताबीचको आरोप–प्रत्यारोप होइन। एउटै पार्टीबाट जनताको मत पाएर संसद् पुगेका दुई प्रतिनिधिमध्ये एकले अर्काको सम्पर्क व्यवस्थाबारे सार्वजनिक प्रश्न उठाएको घटना हो। यसले रास्वपाका सांसदहरूले नागरिकसँग संवाद र सम्पर्कका लागि कस्तो व्यवस्था अपनाइरहेका छन् भन्ने विषयलाई पनि बहसमा ल्याएको छ।

डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा ह्वाट्सएप, इमेल र सामाजिक सञ्जालमार्फत नागरिकसँग सम्पर्क राख्नु आफैँमा समस्या होइन। तर ती माध्यम सबै नागरिकको पहुँचमा छैनन्। स्मार्टफोन नहुने, इन्टरनेट सुविधा नपुगेका स्थानमा बस्ने वा डिजिटल माध्यम चलाउन नजान्ने नागरिकका लागि सामान्य फोनकल अझै पनि सम्पर्कको महत्त्वपूर्ण माध्यम हो।

त्यसैले ह्वाट्सएपलाई प्राथमिकता दिनु र ह्वाट्सएपबाहेक अन्य माध्यमबाट सम्पर्क नै नहुने अवस्था सिर्जना गर्नु फरक कुरा हुन्। जनप्रतिनिधिले डिजिटल माध्यमलाई संवादको विकल्पका रूपमा प्रयोग गर्न सक्छन्, तर त्यसकै कारण सामान्य नागरिक सम्पर्कविहीन हुनुपर्ने अवस्था आउनु हुँदैन।

सांसदहरू व्यस्त हुन सक्छन्। प्रत्येक फोन तत्काल उठाउन सम्भव नहुन सक्छ। तर नागरिकका गुनासा टिपोट गर्ने, सम्बन्धित व्यक्तिसम्म पु¥याउने र जवाफ दिने वैकल्पिक संयन्त्र भने हुनुपर्छ। फोन नउठेमा पछि फर्काएर सम्पर्क गर्ने, सचिवालयमार्फत गुनासो दर्ता गर्ने वा नागरिकले सहजै प्रयोग गर्न सक्ने अन्य माध्यम उपलब्ध गराउने व्यवस्था जनप्रतिनिधिको कार्यालयले गर्न सक्छ।

तामाङले सार्वजनिक गरेको विवरणअनुसार खनालको स्वकीय सचिवबाट ह्वाट्सएपमार्फत सम्पर्क गर्न भनिएको हो। खनालले स्वयं यस्तो निर्देशन दिएका हुन् वा उनको सचिवालयको सम्पर्क व्यवस्थाबारे कुनै विशेष कारण छ भन्ने विषय भने खुलेको छैन। यसबारे खनालको प्रतिक्रिया पनि सार्वजनिक भएको छैन।

रास्वपाले वैकल्पिक राजनीति, सुशासन र नागरिकको आवाजलाई प्राथमिकता दिने राजनीतिक प्रतिबद्धता अघि सार्दै आएको छ। यस्तो अवस्थामा पार्टीका सांसदहरूको नागरिकसँगको प्रत्यक्ष सम्पर्क र गुनासो सुनुवाइको अभ्यास पनि त्यही प्रतिबद्धतासँग जोडिएर हेरिनेछ।

आशिका तामाङले उठाएको प्रश्नको जवाफ केपी खनालले मात्रै होइन, जनतासँग प्रत्यक्ष संवादको प्रतिबद्धता गर्ने सबै जनप्रतिनिधिले दिनुपर्ने देखिन्छ। किनकि सांसदको सम्पर्क नम्बर हुनु र नागरिकले वास्तवमै सम्पर्क गर्न पाउनु एउटै कुरा होइन।

जनताले आफ्नो मत दिएर संसद्मा पठाएका प्रतिनिधिसँग समस्या राख्न इन्टरनेटको सुविधा अनिवार्य हुनुपर्ने हो कि सामान्य फोनबाट पनि उनीहरूको आवाज सुनिनुपर्ने हो? एउटै पार्टीका दुई सांसदबीच उठेको यो प्रश्नले रास्वपाको नागरिकसँगको सम्पर्क अभ्यासलाई पनि परीक्षणमा ल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट