नेपालीका ४० बैंक खाता र १७ ई–सेवा वालेट प्रयोग गरेर अनलाइन ठगी, विराटनगरबाट चार जना पक्राउ
विराटनगर— नेपाली नागरिकका बैंक खाता र डिजिटल वालेट प्रयोग गरी अनलाइन ठगीबाट प्राप्त रकम संकलन गरेर भारत हुँदै अन्य देश पठाउने गरेको आरोपमा चार जना पक्राउ परेका छन्। मोरङ प्रहरीले दुई भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरी अन्तरदेशीय ठगी सञ्जालमाथि अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित बेतिया जिल्ला चुरना चौबेका २६ वर्षीय ताहिर हुसेन र कठिहार जिल्ला ड्राइभर टोलका ३६ वर्षीय मोहम्मद सावुदिन छन्। उनीहरू दुवै विराटनगर महानगरपालिका–४ मा डेरा गरी बस्दै आएका थिए। त्यस्तै, विराटनगर–१७ का ३१ वर्षीय जफर आलम र विराटनगर–९ का २३ वर्षीय फैयाज खान पनि पक्राउ परेका छन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उनीहरूले नेपाली नागरिकसँग मित्रता बढाएर बैंक खाता र डिजिटल वालेटका विवरण संकलन गर्ने गरेका थिए। आफ्नो बैंक खाता नभएको भन्दै साथीको खातामा पैसा पठाउनुपर्ने बहाना बनाउँदै उनीहरूले सर्वसाधारणका बैंक खाता नम्बर र ई–सेवा नम्बर माग्ने गरेको अनुसन्धानबाट खुलेको छ।
त्यसरी संकलन गरिएका खातामा अनलाइन ठगीबाट प्राप्त रकम जम्मा गराइन्थ्यो। रकम खातामा पुगेपछि फैयाज खानले सम्बन्धित खातावालालाई सम्पर्क गरेर नगद निकाल्न लगाउने र आफूलाई बुझाउन आग्रह गर्ने गरेको जाहेरीमा उल्लेख छ। रकम उपलब्ध गराएबापत खातावालालाई दुई प्रतिशत कमिसन दिने र बाँकी रकम आफैँले राख्ने गरेको प्रहरीको भनाइ छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार फैयाजले संकलित रकममध्ये १० प्रतिशत आफूले राखेर बाँकी रकम गुड्डु भनिने मोहम्मद सावुदिन र जफर आलमलाई बुझाउने गरेका थिए। उनीहरूले पनि १० प्रतिशत कमिसन राखेर बाँकी रकम ताहिर हुसेनलाई दिने गरेको खुलेको डीएसपी मिश्रले बताए।
अन्तिम तहमा रहेका ताहिरले पाकिस्तानी नागरिकहरूसँग सम्पर्क गरेर उनीहरूको निर्देशनअनुसार भारतका विभिन्न बैंक खातामा रकम जम्मा गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसरी नेपाली नागरिकका खातामा ठगीको रकम जम्मा गराउने, नगद निकाल्ने, विभिन्न व्यक्तिमार्फत रकम हस्तान्तरण गर्ने र अन्ततः भारतका बैंक खातामा पु¥याउने तहगत सञ्जाल सञ्चालन भएको प्रहरीको दाबी छ।
अनुसन्धानका क्रममा विभिन्न नेपाली बैंकका ४० वटा खाता र ई–सेवाका १७ वटा खाता प्रयोग भएको पत्ता लागेको डीएसपी मिश्रले जानकारी दिए। ठगीमा नबिल बैंक, एनआईसी एसिया, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, ज्योति विकास बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंकलगायतका खाताहरू प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती खाताहरू प्रयोग गरेर ठगीबाट प्राप्त रकम संकलन गरी विभिन्न व्यक्तिमार्फत भारत पठाउने गरिएको भन्दै जाहेरी परेको थियो। पक्राउ परेका चारै जनाविरुद्ध अनलाइन ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको छ।
डीएसपी मिश्रका अनुसार अहिलेसम्मको अनुसन्धानबाट १५ लाख रुपैयाँभन्दा बढी ठगी भएको खुलेको छ। तर, गिरोहले लामो समयदेखि विभिन्न बैंक खाता र डिजिटल वालेट प्रयोग गरेको देखिएकाले ठगीको रकम अझै बढ्न सक्ने प्रहरीको अनुमान छ।
‘हालसम्मको अनुसन्धानबाट १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ। अझै लाखौँ रकम अनलाइनमार्फत ठगी गरेको अनुमान छ। पीडितहरू जाहेरी दिन आउने क्रम जारी छ,’ मिश्रले भने।
पाँच दिनअघि पक्राउ परेका व्यक्तिहरूको अनुसन्धान गर्दै जाँदा अनलाइन ठगीका लागि ठूलो सञ्जाल खडा गरेको खुलेको प्रहरीको भनाइ छ। गिरोहमा अन्य व्यक्तिहरू पनि संलग्न रहेको आशंकामा प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।
प्रहरीले अनलाइन ठगीमा परेका सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गरी जाहेरी दिन आग्रह गरेको छ। अनुसन्धान जारी रहेकाले प्रयोग भएका बैंक खाता, डिजिटल वालेट, रकमको वास्तविक परिमाण र भारत तथा अन्य देशसम्म फैलिएको भनिएको सञ्जालबारे थप विवरण खुल्न बाँकी छ।
नेपाली नागरिकका नाममा रहेका बैंक खाता र डिजिटल वालेट अरूलाई प्रयोग गर्न दिँदा त्यसको दुरुपयोगबाट ठगीको रकम ओसारपसार हुन सक्ने यो घटनाले देखाएको छ। प्रहरी अनुसन्धानले आरोपितहरूबीचको भूमिका र रकम प्रवाहको बाटो पहिचान गर्ने प्रयास गरिरहेको छ।

