बलात्कार र हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षका परिवारबाट पीडितलाई धम्कीः मुद्दा फिर्ता नलिए छोराछोरीकै हालत हुन्छ
राजविराज– तीन वर्षअघि एक किशोरीको बलात्कारपछि हत्या र उनका भाईलाई अपहरण गरी वेपत्ता पारेको घट्नाका आरोपी मध्येका डाकनेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्रकुमार साह अहिले सप्तरी प्रहरीको हिरासतमा छन्।
डाकनेश्वरी–१ का निर्वाचित वडाध्यक्ष ६० वर्षीय पृतमलाल चौधरीको ४ कात्तिक ०८१ मा हृदयघाटका कारण मृत्यु भएपछि १६ मंसिरमा उपनिर्वाचन भएको थियो। प्रहरीको खोजी सूचिमा रहेका धिरेन्द्रले पनि जसपा नेपालका तर्फबाट उपनिर्वाचनमा भाग लिए।
तर, उनी मनोनयन दर्ता गर्न आफैं उपस्थित नभएर वारेसमार्फत उम्मेदवारी दर्ता गराए। सर्वाधिक मत ल्याएर वडाध्यक्षमा निर्वाचित पनि भए। २१ मंसिरमा सपथग्रहण कार्यक्रमको आयोजना गरियो। सोही समारोहबाट प्रहरीले धिरेन्द्रलाई पक्राउ गरेको थियो।
प्रहरीले उनीमाथि अपहरण तथा शरीरबन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका मुद्दामा अनुसन्धान गरिरहेको छ। १७ साउन ०७९ मा डाक्नेश्वरी नगरपालिका–१ कविलासाकै चन्द्रदेवी साहकी १९ वर्षीया छोरी सन्तोषीको बलात्कारपछि हत्या र उनका भाई १७ वर्षीय आशिषलाई अपहरणपछि बेपत्ता बनाएको घट्नाका उनी आरोपित हुन्।
प्रहरीका अनुसार उक्त घट्नामा अन्य ब्यक्ति पनि संलग्न रहेको पाईएको छ। उनीहरुको प्रहरीले खोजी गरिरहेको छ।
यता, धिरेन्द्र पक्राउ परेपछि उनको परिवारले हत्या र वेपत्ता पारिएका सन्तोषी र आशिषकी आमा ५५ वर्षीया चन्द्रदेवीलाई धम्की दिन थालेको खुलेको छ। दोषीमाथि कारबाहीको माग गर्दा आफुमाथि ज्यान मार्ने धम्की आउन थालेको उनले बताएकी छिन्। सदरमुकाम राजविराज पुगेर उनले सुरक्षित बस्ने वातावरण मिलादिन सम्वन्धित निकायसँग आग्रह गरेकी छिन्।
पक्राउ परेका साह र अन्य फरार प्रतिवादीका आफन्तले हरेक दिन ‘मुद्दा फिर्ता नलिए छोराछोरीकै हालत हुन्छ’ भन्दै ज्यान लिने धम्की दिने गरेको उनको भनाई छ। ‘खेत, बजार र घरमा जहाँ पनि पुग्छन। मुद्दा फिर्ता नलिए तेरो अवस्था पनि छोराछोरीको जस्तै पारिदिन्छौं भन्छन्’– उनले भनिन्।
यस वारे आफुले प्रहरी÷प्रशासनलाई पनि जानकारी गराएको उनको भनाई छ। यस्तै अवस्था रहिरहे र कतैबाट सहयोग नपाए गाउँ नै छोड्नु पर्ने अवस्था बनेको उनले लाचारी सुनाईन। प्रहरीले भने घटनाका अन्य आरोपीहरूको खोजी भईरहेको र पीडितको सुरक्षाका लागि काम भईरहेको जनाएको छ।
यो पनि,
