कार्यालय खोलेर ८ वर्षदेखि नक्कली कागजात बनाउने कारखाना चलाईरहेको गिरोह पक्राउ

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–७, फुटुङमा कार्यालय नै खोलेर ८ वर्षदेखि नक्कली कागजातहरुको कारखाना चालईरहेको एउटा गिरोह पक्राउ परेको छ।

गोरखाको भीमसेनथापा गाउँपालिका–१ का ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ की २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका–२ छयाङ्ढुङकी २३ वर्षीया अन्जु खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरु मध्ये बयलकोटी योजनाकार हुन भने खड्का र खत्री सहयोगी हुन। बयलकोटीले सहयोगीलाई मासिक १० देखि १५ हजार रुपैयाँसम्म तलव दिएर काममा लगाएका थिए। कारखाना विगत ८ वर्षदेखि चलेको प्रहरीले जनाएको छ।

यो समूहले सरकारी कागजातहरू, शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजातहरू, बैंक तथा वित्तिय संस्थाका कागजातहरू बनाउँदै आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए।

यसैगरी, जग्गा धनीपूर्जादेखि सवारी चालक अनुमतिपत्र र खासगरी डिपेन्डेन्ट भिसाका लागि चाहिने म्यारिज सर्टिफिकेट समेत बनाइदिने गरेको प्रहरीले बताएको छ। प्रहरीले कारखानाबाट ठूलो संख्यामा नक्कली डकुमेन्ट र नक्कली छापहरु पनि बरामद गरेको छ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट