लिलामीको नाममा लुट ! भन्सार प्रमुखकै गाडीमा लुकाएर कहाँ पुर्‍याइयो मोटरसाइकल ?

राजविराज — सप्तरीको तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा सवारीसाधन लिलामी प्रक्रियामा अनियमितता भएको आरोप लागिरहेकै बेला भन्सार प्रमुखकै गाडीको ट्रलीमा मोटरसाइकल लुकाएर लैजाँदै गरेको भिडियो सार्वजनिक भएपछि विवाद थपिएको छ।

पछिल्लो घट्नालाई निश्पक्ष अनुशन्धान गर्ने हो भने आरोप पुष्टि हुने जानकारहरु वताउँछन्। हालै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको भीडीओमा भन्सार प्रमुख सत्यनारायण सिंहले प्रयोग गर्ने बा २ झ १३४३ नम्बरको सरकारी गाडीको ट्रलीमा नम्बर प्लेट नभएको हिरो ग्ल्यामर मोटरसाइकल लोड गरिएको देखिन्छ।

मोटरसाइकलसँगै केही पोको पारिएका सामान पनि राखिएको छ। केही समयपछि ती सामान र मोटरसाइकल त्रिपालले छोपिएको अवस्थामा गाडी राजविराजतर्फ जाँदै गरेको देखिन्छ। यो घट्ना गत शुक्रबार दिउँसो करिब ३ बजेको हो। त्यो समयमा राजविराज हुँदै पश्चिमतर्फ गएको उक्त गाडीमा सिंह आफैं धनुषास्थित घर जाँदै गरेको खुलेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भीडीओका विषयमा प्रतिक्रिया दिँदै प्रमुख सिंहले भने मोटरसाइकल मर्मतका लागि बर्दिबास लैजाँदै गरेको बताएका छन। तर उनले मर्मतका लागि लगिएको ग्यारेजको नाम र मोटरसाइकलको नम्बर खुलाएनन्।

भन्सारमा त्यस्तो मोटरसाइकल छ/छैन भन्ने प्रश्नमा पनि उनले जवाफ दिएनन्। बरु, उनले आफुलाई बदनाम गराउन भीडीओ भाइरल बनाइएको आरोप लगाएका छन्। यसअघि, ९ जेठमा भएको लिलामी पनि भन्सार कार्यालयले मिलेमतोमा गरेको आरोप लाग्दै आएको छ।

त्यसबेला २० वटा मोटरसाइकल लिलामीमा राखिएकोमा १३ वटा मोटरसाइकल मोरङका अभिषेक चौधरीको नाममा परेका थिए। ती सबै मोटरसाइकल न्यूनतम मूल्यभन्दा एक÷एक सय रुपैयाँ बढीमा लिलामी गरिएको थियो।

त्यसअघि (पहिलो चरणमा) ५४ वटा मोटरसाइकल, ५ वटा ट्याक्टर, ६ वटा अटो र १२८ वटा स्क्र्याप सामग्री (खराब, अनुपयोगी तर पुनः प्रयोग योग्य वस्तु ) लिलामी गरिएको थियो। स्रोतका अनुसार उक्त लिलामी प्रक्रिया पनि शंकास्पद छ।

सप्तरीका सीडीओ भोला दाहालले घटनापछि प्रारम्भिक जानकारी लिएको बताए। ‘भन्सार प्रमुखसँग सोध्दा मर्मतका लागि लैजाँदै गरेको भनेका छन। तर अब यो विषयमा थप छानबिन भइरहेको छ। गलत भेटिए कानुनी कारबाही हुनेछ।’– दाहालले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट