रौतहटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

जनकपुर — रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गको बागमती खण्डमा बिहीबार बिहान गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार चन्द्रपुर–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको गाडीको ठक्करबाट मृत्यु भएको हो। बिहान करिब ४÷५ बजे घरबाट बाहिर निस्किएका जिम्बालाई पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीले ठक्कर दिएको थियो।
घटनास्थलमै मृत्यु भएका जिम्बाको शवको मुचुल्का उठाउन खोज्दा स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए। पीडित पक्षले दोषी पत्ता लगाई कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग जाम गरेका छन्।
राजमार्ग जामका कारण यात्रुहरू सडकमै अलपत्र परेका छन्। झण्डै ५ घण्टासम्म सवारी अवरुद्ध हुँदा यात्रुहरूले गर्मीमा ठूलो सास्ती भोग्नु परेको छ। प्रहरीले ठक्कर दिने सवारी साधन पत्ता लगाउन सीसीटीभी फुटेज जाँच गरिरहेको जनाएको छ।
डीएसपी राजकुमार राईका अनुसार पीडित पक्षको माग सम्बोधन गरी राजमार्ग खुलाउने प्रयास भइरहेको छ।