धनराजकी पूर्वपत्नि जोडिएको सहकारी ठगीका मास्टरमाईण्ड भण्डारीका दुई नागरिकता, दुई राहदानी र कयौँ नक्कली कागजात

काठमाडौं— एउटै व्यक्तिसँग दुई जिल्लाबाट लिएको दुईवटा नागरिकता, ती नागरिकताका आधारमा बनाइएका फरक राहदानी र यिनै पहिचानको आडमा करोडौं रुपैयाँ ठगेर विदेशमा लुकेका ज्योति बहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर ल्याएको छ।

मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका १४४ जना सदस्यबाट झिकिएको १४ करोड रुपैयाँभन्दा बढी रकम अपचलन र ठगी गरी फरार रहेका भण्डारीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरिएको हो। उनले कास्की र बर्दिया जिल्लाबाट अलग–अलग विवरणमा नागरिकता लिएका थिए भने त्यसै आधारमा दुईवटा राहदानी प्राप्त गरेर वर्षौंसम्म विदेशी भूमिमा पहिचान लुकाउँदै ठगी सञ्चालन गरेका थिए।

प्रहरी प्रधान कार्यालयको आदेशमा खटिएको विशेष टोलीले ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति नेपाल ल्याएको हो। भण्डारीविरुद्ध नेपाल प्रहरीले गत कात्तिक १३ गते रेड नोटिस जारी गरी अन्तर्राष्ट्रिय रूपमा खोजी थालेको थियो।

उनले नक्कली कागजात प्रयोग गर्दै विदेशमा बसोबास गरिरहेको सूचनाका आधारमा सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) सक्रिय भएको थियो। कम्बोडियास्थित नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङकी पूर्वपत्नी र इन्टरपोलको समन्वयमा उनलाई फेला पारिएको प्रहरी स्रोत बताउँछ।

प्रहरी अनुसन्धान अनुसार, मितेरी सहकारीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले संस्थाबाट उठाएको करोडौं रकम भण्डारीमार्फत लुकाएको तथ्य खुलेको छ। गुरुङले अपचलन गरेर निकालेको रकम थाइल्याण्डमा बसोबास गरिरहेका भण्डारीलाई सुम्पिएको देखिएको छ।

सहकारी सञ्चालकहरूसँग सम्पर्क गरेर भण्डारीले रकम फिर्ता गरिदिने आश्वासन दिँदै विश्वास जित्ने प्रयास गरेका थिए, जसका लागि गुरुङ नै पुल बनेकी थिईन।

प्रहरी स्रोतका अनुसार उनले अरु व्यक्तिका विवरण मिलाएर काल्पनिक नामका राहदानीहरू समेत बनाएको खुलेको छ। केही राहदानीमा उनको फोटो भए पनि नाम र विवरण अर्काको प्रयोग गरिएको छ।

भण्डारीले बैंक खाताहरू समेत अन्य व्यक्तिको नाममा प्रयोग गर्दै रकम स्थानान्तरण गर्ने प्रविधि अपनाएको देखिन्छ। प्रहरीले उनीसँगै प्रयोग भएका राहदानी, नागरिकता, खाताहरूको विवरण, डिजिटल सम्पर्कहरू र सम्बन्धित कागजातहरू संकलन गरिरहेको छ।

भण्डारीमाथि नागरिकता ऐन, राहदानी ऐन, सहकारी ऐन, आप्रवासन कानुन र ठगीसम्बन्धी फौजदारी मुद्दा चलाइने तयारी छ। उनले प्रयोग गरेका नक्कली कागजातको स्रोत, सहभागी हुने अन्य व्यक्तिको पहिचान र विदेशमा सम्पर्क भएका व्यक्तिहरू समेत अनुसन्धानको दायरामा ल्याइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट