६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोक्कालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं — ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी भियना होटल सञ्चालक अमला रोक्कालाई दुई लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत शुक्रबार टोखा क्षेत्रबाट पक्राउ गरेकी रोक्का डेढ वर्षभन्दा लामो समयदेखि फरार थिइन्। उनलाई आइतबार अदालतमा पेश गरी थुनछेक सुनुवाई गरिएको थियो।
न्यायाधीश बलराम लम्सालको इजलासले सोमबारसम्म चलेको बहसपछि दुई लाख धरौटी बुझाएपछि उनलाई छोड्न आदेश दिएको हो। तर, धरौटी बुझाए पनि रोक्का तत्कालै छुटेकी छैनन् र अहिले सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको छ।
सुन तस्करी प्रकरणमा रोक्काको संलग्नता ठूलो देखिएको छ। पति तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र उनको माओवादी नेतासँग घनिष्ट सम्बन्ध रहेको खुलेको थियो। दावा छिरिङ माओवादी केन्द्रका माथिल्लो तहका नेताहरूसँग परिवारजस्तै नजिक भएका थिए।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोराहरू जितेन्द्र र दीपेश पुन, बुहारी जुना पुनसँग दावाको बारम्बार भेटघाट र पारिवारिक सम्बन्ध थियो। माओवादीका अर्का नेता वर्षमान पुनसँग पनि उनीहरु जोडिएका छन्।
दावाले २०७४ सालमा अमलासँग विवाह गरेका थिए। अमला रोक्का माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क समितिकी नेता हुन् र उनको होटल भियानामा माओवादी कार्यकर्ताहरूको जमघट हुने गरेको थियो।
राजस्व अनुसन्धान विभाग र सिआइबीले दावाको सुन तस्करी तथा अन्य गैरकानुनी कारोबारमा माओवादी नेताहरूको संरक्षण रहेको आशंका गरेको थियो। माओवादी नेताहरू भने त्यस विषयमा अनभिज्ञता प्रकट गर्छन।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट छुटेको ब्रेक–शुमा ठूलो परिमाणमा सुन भेटिएपछि राजस्व अनुसन्धान विभागले प्रारम्भिक अनुसन्धान थालेको थियो। उक्त ब्रेक–शुमा ६० किलो ७१६ ग्राम सुन रहेको पत्ता लागेको थियो।
दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक–शु मगाएको खुल्न आएको थियो। अनुसन्धानका क्रममा चीनबाट विभिन्न सामानभित्र सुन राखेर नक्कली कम्पनीमार्फत तस्करी भएको खुलेको छ।
शुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरे पनि पछि मुद्दा सिआइबीले अगाडि बढाएको थियो। राजस्व विभागले २०८० साउन १४ गते दावा छिरिङलाई पक्राउ गरिसकेको थियो भने श्रीमती अमला रोक्का फरार थिइन्।