‘कलकतिया बाली’ सिरियलकी कलाकार अंशा सदा आफ्नै घरमा मृत फेला

जनकपुर– ‘कलकतिया बाली’ युट्युब सिरियलकी कलाकार अंशा सदा आफ्नै घरमा मृत फेला परेकी छन्। मृतक अंशा सिरियलकी मुख्य कलाकार अविनाश झाकी पत्नी हुन्।

जनकपुरधाम उपमहानगरपालिका–१५ मा अवस्थित ‘कलकतिया बाली’ सिरियल छायांकनका लागि प्रयोग हुने घरमा अंशा सदा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। प्रहरीका अनुसार उनी राति साढे ९ बजे सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनास्थल भित्रबाट बन्द थियो।

धनुषाका डीएसपी बरुणबहादुर सिंहका अनुसार घटना सम्बन्धमा प्रहरी टोली रातिदेखि नै घटनास्थलमा खटिएको छ। घटनास्थलको मुचुल्का उठाइसकिएको र मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

मृतक अंशा सदा र अविनाश झाले करिब ६ महिना पहिले मात्र विवाह गरेका थिए। उनीहरूबीच ‘कलकतिया बाली’ सिरियलमा सँगै काम गर्दागर्दै सम्बन्ध बढेको थियो। अविनाश धनुषाको विदेह नगरपालिका–२ धोबीका स्थायी बासिन्दा हुन्। हाल उनी जनकपुरधाममा बस्दै आएका थिए।

ब्राह्मण समुदायका अविनाशले दलित समुदायकी अंशासँग विवाह गरेपछि उनीहरूको विवाहले समाजमा प्रशंसा पाएको थियो। युट्युबमार्फत चर्चित बनेका ‘कलकतिया बाली’ सिरियलका कारण पनि उनीहरू दुवै लोकप्रिय थिए।

प्रहरीले घटनालाई प्रारम्भिक रूपमा आत्महत्या भने पनि यसबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। स्थानीय कलाकारहरूको भनाइमा अंशाले भित्रबाट ढोका लगाएर आत्महत्या गरेकी हुन्। तर घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट