झापामा रोकेको ट्रकमा ठोक्किएर मोटरसाईकल चालकको मृत्यु, धनुषामा सिरहाका महराले ज्यान गुमाए

राजविराज– झापाको रतुवा पुल र धनुषाको ढल्केबरमा शुक्रबार राति भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
झापाको कमल गाउँपालिका–५ रतुवा पुलमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा सुशील राईको मृत्यु भएको हो। गएराति साढे ९ बजे दमकबाट केर्खातर्फ जाँदै गरेको ट्रक (मे १ ख ३३१८ नम्बर) सडकमा बिग्रिएर रोकिएको थियो। सोही दिशाबाट आइरहेको मोटरसाइकल (मे ९ प ८९०४ नम्बर) ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका राईलाई तत्काल निम्स अस्पताल दमक लगिएको थियो। प्राथमिक उपचारपछि बीएण्डसी अस्पताल बिर्तामोड रिफर गरिएको भए पनि बाटोमै मृत्यु भएको शंका भएपछि पुनः निम्स अस्पताल लगिएको थियो। अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषित गरेका थिए।
दुर्घटनापछि फरार रहेका ट्रक चालक अर्जुनधारा–७ का रघुनाथ सिटौलालाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको जनाएको छ।
त्यसैगरी, शुक्रबार राति धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा जनकपुरतर्फ जाँदै गरेको नम्बर नखुलेको गाडीको ठक्करबाट सिरहाको धनगढीमाई नगरपालिका–६ का ५५ वर्षीय बिन्देश्वर महराको मृत्यु भएको छ।
गम्भीर घाइते भएका महरालाई उपचारका लागि मोडल हस्पिटल, लालगढ पु¥याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीका अनुसार महरा ढल्केवरस्थित मिथिला हार्डवेयरमा काम गर्दै आएका थिए।
इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर जटाशंकर यादवका अनुसार ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन। शंकास्पद केही गाडीहरू नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र आसपासका सिसीटिभी फुटेज संकलन भइरहेको उनले बताए।