चितवनमा बस र इभी माइक्रोबस ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

चितवन– पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा शनिबार बिहान बस र इभी माईक्रो बस ठोभिएको भीषण सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
मृत्यु हुनेमध्ये दुई जनाको मात्र पहिचान भएको छ। बाँकी मृतकहरुको सनाखत हुन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ। दुर्घटनामा परेका मध्ये अधिकांश इभी माइक्रोबसमा सवार यात्रुहरू रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना चितवनको राप्ती नगरपालिका–४ स्थित डडुवा नजिकैको खहरेपुल क्षेत्रमा भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इभी गाडीका यात्रुहरूमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको उपचारका क्रममा निधन भएको हो। मृतकमध्ये एक गर्भवती महिलासमेत रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। हालसम्म मकवानपुरको हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने (पहाडी)को सनाखत भएको छ।
बाँकी मृतकहरूको नाम र ठेगाना सनाखत गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। सबै मृतकहरूको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका मध्ये ८ जना घाइतेको पुरानो मेडिकल कलेजमा र बाँकी १० जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि सडक दुबै तर्फ अवरुद्ध भएको थियो। तत्काल क्रेन बोलाएर अवरुद्ध सडक खुलाइएको चितवन प्रहरीले जनाएको छ। घटनाको कारणको विषयमा प्रारम्भिक अनुसन्धानले तीव्र गति तथा सम्भावित ब्रेक फेलको आशंका गरिएको छ।
घाइते
१६ वर्षीय सक्षम थापा, हेटौंडा–१३, मकवानपुर
३२ वर्षीय सिंहबिर घलान, हेटौंडा–१२
३१ वर्षीय विष्णु लम्साल
३४ वर्षीय गंगा घलान
६५ वर्षीय सुशीला बराल र ६७ वर्षीय उमा बराल, गौरादह नगरपालिका–९, झापा
४८ वर्षीय वीरबहादुर जैसी, बेलौरी नगरपालिका–४, कञ्चनपुर
३० वर्षीय सन्देश ओली, आठबिस्कोट नगरपालिका–९, रुकुम पश्चिम