‘साहसी छोरीहरू’को साइबर युद्धः असभ्य गालीविरुद्ध एलिना र समीक्षाको कठोर कदम

राजधानी — सामाजिक सञ्जालका छाडा प्रयोगकर्ताले गायिका एलिना चौहान र समीक्षा अधिकारीजस्ता चर्चित महिला कलाकारहरू चरित्र हत्या र साइबर हिंसाको सिकार बन्न पुगेका छन्।
गायिका एलिनाले मंगलबार नेपाल प्रहरीको साइबर ब्युरो पुगेर चार जना दुव्र्यवहारकर्ताविरुद्ध उजुरी दिएकी छिन्। केही दिनयता एलिना र समीक्षाले फेसबुकमार्फत आफ्ना आलोचक र गाली गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियान चलाइरहेका थिए। प्रोफाइल सार्वजनिक भएपछि केहीले माफी मागेका छन् तर कतिपय अझ हौसिँदै अपाच्य गालीलाई दोहो¥याइरहेका छन्।
‘त्यसरी प्रोफाइल सार्वजनिक गर्दा पनि पटकपटक असभ्य व्यवहार गर्नेहरूलाई कारबाहीको घेरामा ल्याउन उजुरी दिन बाध्य भएँ,’ एलिनाले भनिन्। उनी बाँकीद्विरुद्ध पनि उजुरी दर्ता गर्ने तयारीमा छिन्।
समीक्षा केही समयअघि ‘बलात्कार आरोप’को मुद्दा लिएर अदालत पुगेकी थिइन्। एलिनाले श्रीमानसँग डिभोर्स गरेकी छिन्। यही विषयमा उनीहरुको निजी जीवनका प्रबेश गरीसोशल मिडियामा निरन्तर भद्दा टिप्पणी र यौनिक गाली भइरहेको छ। त्यसपछि समीक्षा र एलिनाले अभियान सुरु गरेका हुन।
‘हामीले धेरै सह्यौं, अब सबैका लागि न्याय खोज्नुपर्छ भन्ने लागेर यो कदम चालेकी हुँ,’ एलिनाले भनिन्।
यसअघिका उदाहरणहरू पनि थोरै छैनन्। दीपाश्री निरौला, पूजा शर्मा, सुरक्षा पन्त र ऋचा शर्मा समेत सामाजिक सञ्जालमा निरन्तर ट्रोल र साइबर हिंसाको शिकार भएका थिए। असभ्य गालीविरुद्ध आफ्नो प्रोफाइलमा आवाज उठाउने सुरुवात ऋचाले गरेकी थिइन्। पछिल्लो समय समीक्षाले आलोचकहरूको नाम सार्वजनिक गरेपछि यो अभियान तीव्र गतिमा अघि बढेको हो।
अभियानले सामाजिक समर्थन पनि पाइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसमेतले ‘साहसी छोरीहरू’ भन्दै सार्वजनिकरूपमा समर्थन जनाएका छन्। एलिनाले भनिन्, ‘प्रधानमन्त्री निकटका व्यक्तित्वहरूले समेत फोन गरेर हामी तपाईंहरूको साथमा छौँ भनेपछि अझ ऊर्जा थपियो।’
यसबीच, नेपाल प्रहरीको साइबर ब्युरोबाट सकारात्मक रेस्पोन्स पाएको भन्दै उनी ढुक्क रहेको बताउँछिन्। ‘उहाँहरूले हामी तपाईँहरूसँग छौं, डराउनुपर्दैन भनेका छन्,’ एलिना भन्छिन्।
समीक्षा र एलिनाले सँगसँगै अपमानजनक टिप्पणीविरुद्ध कडा कानुनी कदम चाल्नैपर्ने बाध्यता महसुस गरेका छन्। उनीहरू भन्छन– यो लडाइँ अब व्यक्तिगत मात्र होइन, सार्वजनिक रूपमा हरेक कलाकार र महिलाको इज्जतको लडाइँ हो।