‘चन्द्रौटामा लखेटिएको हल्ला’ भ्रमपूर्ण भन्दै ज्योति मगरले दिईन ‘श्रद्धाञ्जली’

काठमाडौँ— गायिका ज्योति मगरले कपिलबस्तुको चन्द्रौटामा आफू लखेटिएको भन्ने समाचारलाई भ्रामक र आधारहीन भन्दै कडा प्रतिक्रिया जनाएकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको स्पष्ट पारेकी छन् र त्यसलाई फैलाउनेप्रति व्यंग्यात्मक शैलीमा आक्रोश व्यक्त गरेकी छन्।

ज्योतिले आफूविरुद्ध फैलाइएको समाचारले केही मानिसहरूलाई अनावश्यक खुशी दिएको तर वास्तविकता बाहिरिएपछि उनीहरूलाई मानसिक धक्का लागेको हुन सक्ने उल्लेख गरेकी छन् । ‘मेरा प्यारा दुश्मनहरू शुभ प्रभात,’ भन्दै सुरु गरिएको पोस्टमा उनले चन्द्रौटामा ज्योति मगर लखेटिइन् भन्ने समाचार सुनेर रमाउनेहरूलाई कटाक्ष गरेकी छन्। उनले सो कार्यक्रममा आफू सहभागी नै नभएको र त्यो कार्यक्रम अर्कै कलाकारको भएको तथ्य बाहिरिँदा धेरैको मन दुखेको हुन सक्ने टिप्पणी गरेकी छन्।

उनले भनेकी छन् ‘समाचारमा उल्लेख गरिएको दिन म चन्द्रौटामा होइन, दाङको घोराहीमा थिएँ। त्यहाँ आयोजित मेरो सांगीतिक कार्यक्रम सभ्य र भव्य रूपमा सफलतापूर्वक सम्पन्न भयो।’ भ्रामक समाचार फैलाएर आत्मरतिमा रमाउनेहरूका लागि त्यो ‘दुःखद घडी’ भएको भन्दै उनले व्यंग्यपूर्ण रूपमा ‘हार्दिक श्रद्धाञ्जली’समेत व्यक्त गरेकी छन्।

ज्योति मगरले तथ्य नबुझी हल्लाको भरमा समाचार बनाउने प्रवृत्तिले कलाकारको छवि र पेशागत मर्यादामाथि प्रहार हुने बताएकी छन्। उनले आफूलाई बदनाम गर्ने उद्देश्यले फैलाइने यस्ता समाचारको विरोध गर्दै सत्य तथ्य सार्वजनिक गर्नुपर्ने जिम्मेवारी सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको भएको स्मरण गराएकी छन्।

यसअघि चन्द्रौटामा आयोजित एक कार्यक्रममा अव्यवस्था भएको घटनासँग जोडेर केही अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमा ज्योति मगरलाई लखेटिएको दाबी गरिएको थियो। तर ज्योतिले उक्त कार्यक्रममा आफ्नो कुनै संलग्नता नरहेको र आफू अर्कै स्थानमा कार्यक्रम गरिरहेको जानकारी दिएकी हुन् ।

स्पष्ट वक्तव्य र विवादास्पद विषयमा खुला धारणा राख्ने कलाकारका रूपमा चिनिने ज्योति मगरले पछिल्लो घटनामा पनि मौन बस्नुभन्दा सार्वजनिक रूपमा सत्य बोल्ने बाटो रोजेकी छन्। उनले भ्रामक समाचारको प्रतिवाद गर्दै अब हल्ला होइन, तथ्यको आधारमा कुरा गर्न आग्रह गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट