२० पुरुषसँग डेट, सवैसँग आईफोन गिफ्ट, आईफोन बेचेर किनिन् घर

चीनमा एक अनौठो र चर्चित घटना चर्चामा आएको छ, जसले प्रेम, प्रलोभन र प्रविधिको व्यापारलाई अनौठो ढङ्गले जोडेको छ। करिब नौ वर्षअघि चीनकी एक महिलाले ६ महिनाको अवधिमा २० पुरुषसँग डेट गरिन् र उनीहरूसँग उपहारस्वरूप नयाँ आइफोन–७ मागिन्। सबै आइफोन प्राप्त गरेपछि ती सबैलाई अनलाइन बेचिन् र कमाएको पैसाबाट घरको डाउनपेमेन्ट तिरिन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार, ‘सिस्टर हङ’ नामले भाइरल भएको नयाँ ‘क्रस–ड्रेसिङ स्क्याम’को चर्चा चुलिँदा पुरानो घटना पुनः बाहिर आएको हो। नयाँ स्क्याममा एक पुरुषले आफूलाई महिला भन्दै प्रेममा पारेर ठगी गर्दै आएको रहस्य खुलेपछि २०१६ को यो चर्चित घटना सामाजिक सञ्जालमा फेरि भाइरल बनेको हो।
कियानजियाङ इभनिङ न्यूजका अनुसार ती महिला शेन्जेनस्थित एक निजी कम्पनीमा कम तलबमा जुनियर क्लर्कको रूपमा काम गर्थिन्। उनले सामाजिक सञ्जालमा गृहनगरमा घर किनेको खबर पोस्ट गरेपछि सहकर्मीहरूले शङ्का गरे। अनुसन्धानबाट खुलेको तथ्यअनुसार, उनले २० पुरुषसँग सम्बन्ध बनाउँदै सबैलाई आइफोन ७ उपहार दिन आग्रह गरेकी थिइन्।
उक्त मोबाइलहरू उनले अनलाइन बेचेकी थिइन्। एक इलेक्ट्रोनिक ट्रेडिङ प्लेटफर्मका कर्मचारीका अनुसार ती आइफोनको प्याकेज खोलिएको पनि थिएन। हरेक मोबाइल झन्डै ६ हजार युआनमा बिक्री भयो र उनले कुल १ लाख २० हजार युआन (करीब १७ हजार अमेरिकी डलर वा १५ लाख रुपैयाँ) कमाइन्। यिनै पैसाबाट उनले फ्ल्याटको एडभान्स तिरिन्।
उनको व्यवहारका कारण सहकर्मीहरू समेत चकित परे। एकजना महिला सहकर्मीका अनुसार, उनी व्यवहारमा खुशमिजाज थिइन् र सबैसँग मिल्ने स्वभावकी थिइन्। कसैले सोचेका पनि थिएनन् कि उनी यस्तो योजना बनाउने छिन्। रिपोर्टका अनुसार कम्पनीले उनलाई जागिरबाट हटाउने तयारीसमेत गरेको थियो।
यो घटना चीनमा महिलाको ‘प्रेमको प्रयोगमार्फत वित्तीय लाभ’ भन्ने बहसको केन्द्रमा परेको छ। धेरैले उनलाई ‘सिस्टर हङ’ स्क्यामका गुरु पनि भन्न थालेका छन्। सामाजिक सञ्जालमा यो घटनालाई ‘आईफोन स्क्याम’ भनेर चर्चा गरिएको छ।