बालेनको युट्युबबाट गायब भयो गीतः चलचित्रमा श्रीमतीको लगानी लुकाउन खेलियो यस्तो खेल !
काठमाडौँ— काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको एउटा गीत अचानक हटाइएपछि त्यसको पृष्ठभूमिबारे अनेक अड्कलबाजी सुरु भएको छ।
एक महिनाअघि कात्तिक २९ गते ‘बालेन’ नामक च्यानलमार्फत सार्वजनिक गरिएको ‘झरीपछिको इन्द्रेणी’ चलचित्रको गीत ‘फसायो लमीले’ हाल उक्त च्यानलमा देखिँदैन। तर सोही गीत मंगलबार मात्र चलचित्र निर्माणसँग जोडिएको ‘ओएसआर डिजिटल’को युट्युब च्यानलबाट पुनः सार्वजनिक गरिएको पाइएको छ।
गीत एक च्यानलबाट हटेर अर्को च्यानलमा पुनः अपलोड हुनु सामान्य प्रक्रिया जस्तो देखिए पनि यसपछाडि लुकेको कारणले चर्चा तातेको छ। जानकार स्रोतका अनुसार गीत हटाउनु र फरक च्यानलबाट पुनः सार्वजनिक गर्नुको मुख्य उद्देश्य चलचित्रसँग जोडिएको लगानी पक्षलाई ओझेलमा राख्नु हो।
स्रोतको दाबीअनुसार ‘झरीपछिको इन्द्रेणी’ चलचित्रमा मेयर बालेन साहकी पत्नी सविना काफ्लेको आधा लगानी रहेको छ। स्रोतका अनुसार चलचित्रमा कुल लगानी तीन करोड रुपैयाँभन्दा बढी छ, जसको करिब आधा हिस्सा सविना काफ्लेकै भएको बताइन्छ।
चलचित्रको भविष्य अनिश्चित रहेको अवस्थामा सम्भावित आलोचना र सार्वजनिक टिप्पणीबाट बच्न अहिले नै आफूहरू अलग देखिन खोजिएको दाबी स्रोतले गरेको छ। ‘भोलि चलचित्र अपेक्षित रूपमा नचले खिसिट्युरीको जोखिम हुन्छ, त्यसैले अहिले नै लगानीसँग दूरी बनाएको जस्तो देखाउन खोजिएको हो,’ स्रोतले भन्यो।
चलचित्रको निर्देशन ‘भद्रगोल’ सिरिजबाट चर्चामा आएका अर्जुन घिमिरे (पाँडे)ले गरेका छन्। चलचित्रको शुभमुहूर्त कार्यक्रममा बालेन दम्पत्ति स्वयं सहभागी भएका थिए। स्रोतका अनुसार गीतलाई प्रारम्भिक चरणमै चर्चामा ल्याउने उद्देश्यले एक महिनाअघि बालेनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो। तर अपेक्षित भ्युज नआएपछि र लगानीसँग प्रत्यक्ष सम्बन्ध देखिन थालेपछि गीत हटाएर निर्माण कम्पनीको च्यानलबाट पुनः सार्वजनिक गर्ने सहमति भएको बताइन्छ।
गीत किन हटाइयो र किन फरक च्यानलबाट पुनः ल्याइयो भन्ने विषयमा बालेन साह, सविना काफ्ले वा निर्माण पक्षबाट औपचारिक धारणा भने सार्वजनिक गरिएको छैन। तर गीतको यो ‘च्यानमा फड्को मार्ने’ अप्रत्यासित कारणले चलचित्रमा राजनीतिक व्यक्ति वा उनका परिवारको लगानी, त्यसको पारदर्शिता र सार्वजनिक जिम्मेवारीबारे नयाँ प्रश्न उठाएको छ।

