घाउको पीडा, क्यान्सरको डर र आर्थिक अभावले लियो शिक्षकको ज्यानः नहर छेउमा साइकलसहित फेला पर्‍यो शव

राजविराज— बोर्डिङ स्कुलको शिक्षण पेशा, सादा रहनसहन, दुई साना छोराछोरीसहितको परिवार र भित्रभित्रै बढ्दो पीडा। यो कथा हो डाक्नेश्वरी नगरपालिका–४ कुशहाका २७ वर्षीय रामकिसुन रायको, जसको शव शुक्रबार बिहान कोशी नहर छेउमा फेला पर्‍यो।

बिहीबार साँझ घरबाट निस्किएका राय सम्पर्कविहीन भएपछि परिवारले रातभर खोजतलास गर्‍यो। तर, शुक्रबार बिहान स्थानीयले नहरको छेउमा उनको शव भेटे। उनको शवसँगै लडिरहेको थियो, बाँचुन्जेल उनलाई डोर्‍याई रहेको साईकल।

स्थानीय बोर्डिङ स्कुलमा पढाउँदै आएका रायका दुई सन्तान छन् — तीन वर्षका छोरा र पाँच वर्षकी छोरी। स्थानीयका अनुसार श्रीमतीसहित ४ जनाको परिवार चलाउँदै आएका राय केही महिनायता असाध्य पीडामा थिए। घाँटी र मुखमा देखिएको घाउले उनी शारीरिक रूपमा त पीडित थिए नै, त्योभन्दा बढी मानसिक तनावमा थिए।

परिवारका सदस्यका अनुसार उनी दरभंगासम्म उपचारका लागि पुगेका थिए। तर भारतबाट फर्केपछि उनी झनै निराश देखिन थाले। आफन्त र नजिकका साथीहरूसँग उनले खुलेर भन्न थालेका थिए — ‘म धेरै दिन बाँच्दिन होला, मलाई क्यान्सर भएको छ।’

शुक्रबार बिहान शव भेटिएपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले प्रारम्भिक अनुसन्धानका क्रममा उनको गोजीबाट सल्फर नामक किटनाशक औषधि फेला पारेको जनाएको छ। यस आधारमा प्रहरीले आत्महत्या भएको आशंका गरेको छ।

स्थानीयका अनुसार मृतकको मुख र घाँटीमा पहिले देखिनै गम्भीर प्रकृतिका घाउ थियो। यही घाउका कारण उनी पछिल्ला महिनाहरूमा अत्यधिक तनावमा थिए। स्थानीयहरु भन्छन् ‘उनको आर्थिक अवस्था राम्रो थिएन, अस्पताल जाँदा खर्चले धान्न नसक्ने तनाव उनका भनाईले पुष्टि गर्थ्यो।’

स्थानीयका अनुसार घाउको पीडा, क्यान्सरको डर, आर्थिक अभाव र परिवारको चिन्ताले उनले बाँच्नु भन्दा जिवन समाप्त गर्ने बाटो रोजेको हुन सक्छ। तर, प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन। प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएर घट्नाको अनुशन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट