सुनसरीमा बस र माइक्रो दुर्घटनाः मृतक र घाईतेको पहिचान खुल्यो

इटहरी— पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलमा सोमबार बिहान बस र विङ्गर माइक्रो ठोक्किँदा मृत्यु भएका ४ मध्ये ३ जनाको पहिचान खुलेको छ।
मृतक सप्तरीको महदेवा गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीको कोशी गाउँपालिका–६ का अन्दाजी ७० वर्षीय लक्ष्मण सदा र मोरङको विराटनगरका अशोक यादव (पुष्टि हुन बाँकी) छन्। चौथो मृतक अन्दाजी ४५–५० वर्षकी महिला हुन् जसको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा घाइते हुनेहरूमा मोरङ सुन्दरहरैंचाकी अम्बिका राई, खोटाङ रावाबेँसी गाउँपालिका–२ की निरुता परियार, ३८ वर्षीया निर्मला परियार, सप्तरीका रवीन्द्र मण्डल, उदयपुर चौदण्डीगढी नगरपालिका–५ की ५० वर्षीया रेनुका श्रेष्ठ, झापा शिवसताक्षी–५ का ३८ वर्षीय खगेन्द्र थापा, भद्रपुर–९ का ५३ वर्षीय सन्तोष खत्री, उदयपुरका ३० वर्षीय दीपक विक, इलाम चुलाचुली–३ का ३६ वर्षीय सविन राई, सप्तरीका रवीन्द्र मेहता, ६८ वर्षीय जिवछ महात्मा, खोटाङ हलेसी–तुवाचुङ–१० का ८४ वर्षीय नेत्रलाल गिरी र उनका ३९ वर्षीय छोरा केदार गिरी छन्।
यसैगरी, झापा अर्जुनधारा–१ का २० वर्षीय सत्य राई, सप्तरी राजविराज–६ का १० वर्षीय रुद्र राय, मोरङ विराटनगर–१० की शोभा यादव, सप्तरी राजविराज–१२ का ४४ वर्षीय प्रमोद रजक, तिलाठी गाउँपालिका–५ का २२ वर्षीय रवि राय, राजविराज–२ का २४ वर्षीय भोला यादव, ३५ वर्षीय प्रदीप यादव, सुनसरीको कोशी गाउँपालिका–६ का ६० वर्षीय जोगिन्द्र दास, सप्तरीको डाकनेश्वरी–३ की ३० वर्षीया अमृता राय र राजविराज–४ का २१ वर्षीय सन्तोष वास्तोला रहेका छन्।
घाइतेहरू मध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूलाई ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा, गोल्डेन अस्पताल विराटनगर, विराट नर्सिङ होम र इनरुवा जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
दुर्घटना सोमबार बिहान ७ः१५ बजे झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो एकआपसमा ठोक्किँदा भएको हो।
बसका चालक झापा अर्जुनधारा–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्र, एसपी सुमनकुमार तिम्सिना, डीएसपी योगराज खतिवडा तथा अन्य अधिकारी पुगेका थिए। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।