टिकापुर अस्पतालभित्र कर्मचारीको हानाहान, फिजियोथेरापी विभागका कर्मचारी हिरासतमा
काठमाडौँ– कैलालीको टिकापुर अस्पतालभित्रै सहकर्मीमाथि कुटपिट गरेको आरोपमा फिजियोथेरापी विभागमा कार्यरत एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
अस्पतालको प्रयोगशाला विभाग प्रमुख उमेश प्रसाद बजगाईँमाथि हातपात गरेको आरोप लागेपछि फिजियोथेरापी विभागका कर्मचारी अनिल कुमार तिवारीलाई प्रहरीले हिरासतमा राखेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटना असार २३ गते दिउँसो करिब १ बजेर ५६ मिनेटमा अस्पताल परिसरभित्र भएको थियो। अस्पतालको प्रवेशद्वार नजिक भएको उक्त घटनाको दृश्य सीसीटीभी क्यामेरामा समेत कैद भएको छ।
सार्वजनिक भएको सीसीटीभी फुटेजमा अस्पताल परिसरमा उभिएका बजगाईँतर्फ तिवारी पुगेपछि दुवैबीच हातपात भएको देखिन्छ। घटनाको कारणबारे प्रहरीले औपचारिक रूपमा खुलाएको छैन भने त्यससम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ।
घटनापछि टिकापुर अस्पताल प्रशासनले कर्मचारीमाथि भएको कुटपिटबारे छानबिन तथा कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएको थियो। अस्पतालबाट प्राप्त निवेदनका आधारमा प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सेनाले घटनासम्बन्धी निवेदन प्राप्त भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार घटनाको सीसीटीभी फुटेज प्रहरीको अध्ययनमा रहेको छ र घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको छ।
‘उहाँलाई हिरासतमा राखिएको छ। थप छानबिन र अनुसन्धान जारी छ,’ डीएसपी तिमिल्सेनाले भने। प्रहरीका अनुसार घटनाको कारण, संलग्नता र जिम्मेवारी निर्धारणका लागि उपलब्ध प्रमाण तथा सम्बन्धित पक्षहरूको बयान संकलन गर्ने काम भइरहेको छ। अनुसन्धानको निष्कर्षपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

