आफना मान्छेलाई करारमा चालक नियुक्त नगरेपछि मन्त्री हाङ्गामले सचिवको गाडीको चाबी खोसे

विराटनगर– करारका चालक हटाएर आफ्ना मान्छे नियुक्त गर्ने प्रस्ताव अस्विकार भएपछि कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले मन्त्रालयका सचिव शरणकुमार पाण्डेको गाडीको चाबी खोसेका छन्।

मन्त्रालय स्रोतका अनुसार सोमबार कार्यालय पुगेका मन्त्री हाङ्गामले सचिव पाण्डेको सवारी चालकलाई बोलाएर चाबी खोसेका थिए। यस क्रममा उनले चालकहरूलाई भेला पारेर ‘कसैले सचिव बोक्यो भने कारबाही हुन्छ’ भन्दै धम्कीसमेत दिएका थिए।

सचिव पाण्डेले गाडीको चाबी खोसिएको पुष्टि गरेका छन्। उनले भने, ‘मसँग मन्त्रीज्यूको व्यक्तिगत विवाद छैन, तर चालकलाई बोलाएर चाबी खोस्नुभएको रहेछ।’

यसअघि पनि मन्त्री र सचिवबीच लामो समयदेखि तनाब रहँदै आएको मन्त्रालयका कर्मचारीहरू बताउँछन्। केही दिनअघि मात्र करारमा कार्यरत चालक हटाएर आफ्ना मान्छे राख्ने मन्त्रीको प्रयासलाई सचिवले अस्वीकार गरेका थिए। त्यसयता विवाद बढ्दै गएको जनाइएको छ।

सचिव पाण्डेको दुई साताअघि सरुवा भए पनि भदौ १३ गतेको मन्त्रिपरिषद् निर्णयले पुनः सोही मन्त्रालयमा थमौती गरिएको थियो। यसपछि सचिवसँग सहकार्य गर्न चाहनु पर्ने अपेक्षामा रहेका मन्त्री हाङ्गामले उल्टै चाबी खोसेर असन्तुष्टि प्रकट गरेको कर्मचारीहरू बताउँछन्।

यो पहिलो पटक होइन, मन्त्री हाङ्गाम पटक–पटक विवादमा तानिँदै आएका छन्। मन्त्रीका समर्थकहरूले केही दिनअघि ताप्लेजुङमै एक वडाअध्यक्षलाई कुटपिट गरी घाइते बनाएका थिए। मन्त्री हाङ्गाम आफैंले पदमा रहँदै पाथीभरा क्षेत्र विकास समितिका सभापतिलाई समेत कुटपिट गरेको घटनासमेत बाहिर आएको छ।

यस्तै, गत जेठमा बजेट निर्माणका विषयमा प्रमुख सचिवसँग छलफल गर्न गएको भन्दै मन्त्रीले सचिव पाण्डेसहित महाशाखा प्रमुखहरूलाई भौतिक कारबाहीको धम्की दिएको आरोप पनि लागेको थियो। मन्त्री हुनुअघि उनले ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख राजन लिम्बू र उनको परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको प्रसंग सार्वजनिक भएको थियो।

सचिव पाण्डेले चाबी खोसिएको घटनाबारे मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी गराइसकेको बताएका छन्। मन्त्रालयभित्र भने मन्त्रीको ‘दादागिरी’ र ‘यो मेरो राज्य हो’ भन्ने शैलीका कारण कर्मचारीहरू आक्रोशित बनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट