डिल्लीबजार कारागारमा कैदीबन्दीको विद्रोह, आगजनीपछि स्थानान्तरणको तयारी

काठमाडौँ– जेन–जी आन्दोलन चर्किएसँगै देशभर असुरक्षा वातावरण बढिरहेको बेला राजधानीको डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन्।
कारागार प्रशासक बाबुराम अर्यालका अनुसार कैदीबन्दीहरुले ‘आफूहरूलाई पनि बाहिर निस्कन पाउनुपर्छ’ भन्दै मंगलबार दिउँसो कारागारभित्र आगो लगाएका हुन्। अहिले कारागार परिसरभित्र ठूलो मात्रामा धुँवा र आगोको मुस्लो देखिएको उनले जानकारी दिए।
आगजनी नियन्त्रण गर्न सुरक्षाकर्मीहरू खटिइरहेका छन् भने कैदीबन्दीहरूको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी थालिएको प्रशासक अर्यालले बताए।
हालसम्म आगजनीबाट भएको क्षतिको विवरण सार्वजनिक गरिएको छैन। तर आन्दोलन र अशान्तिपूर्ण गतिविधि तीव्र बनेको अवस्थामा राजधानीकै प्रमुख कारागारमा आगजनी हुनु सुरक्षाका लागि थप चुनौतीपूर्ण रहेको मानिएको छ।
यसअघि पनि विभिन्न ठाउँमा सरकारी कार्यालय र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएका घटनाहरू भइरहेका बेला कारागारभित्रै कैदीबन्दीहरूले विद्रोहसहित आगो लगाउनु आन्दोलनको प्रभाव अझ गहिरो हुँदै गएको संकेतको रूपमा लिइएको छ।