जेन–जी आन्दोलनः तोडफोड र आगजनीमा चर्चित अनुहार, काँधमा राष्ट्रिय झण्डा–मनमा कुण्ठा

काठमाडौँ— नेपालमा जेन–जी आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र लुटपाटका दृश्यहरू क्रमशः सार्वजनिक हुँदै छन्। आन्दोलनको नेतृत्व गर्ने भनिएका १३–२८ वर्ष उमेर समूहका युवाभन्दा पनि सार्वजनिक सम्पत्ति जलाउने, संरचना भत्काउने र लुटपाटमा संलग्न धेरैजसो अनुहार भने पाका र राजनीतिक नाता–सम्बन्ध भएका देखिएका छन्।
संसद् र सिंहदरबार अग्निकाण्ड
जेन–जी आन्दोलन सुरु भएको भोलिपल्ट (मंगलबार) संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतलगायत मुलुकका प्रमुख संरचनामा आगजनी भयो। सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा मुख छोपेका व्यक्तिहरू ढुंगामुढा, आगजनी र लुटपाटमा संलग्न देखिएका छन्। कतिपय त खुकुरी बोकेरै प्रदर्शनमा उत्रिएका थिए।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता कैलाश कटुवालको भिडियो सार्वजनिक भयो। जलिरहेको सिंहदरबारतर्फ इसारा गर्दै उनी ‘हामी सफल भयौं’ भन्दै चिच्याइरहेका थिए। आलोचना चुलिँदा उनले भने, आफूले आगो लगाएको होइन, केवल आन्दोलनको सफलतामा खुशी प्रकट गरेको मात्र दाबी गरे।
सर्वोच्च अदालततर्फ आक्रमण
माओवादी निकट युवा नेता विष्णु ढुंगेल सर्वोच्च अदालत परिसरमा आक्रामक मुद्रामा देखिएका थिए। नेपाल ल क्याम्पसका पूर्व स्ववियु सभापति समेत रहेका ढुंगेलले ‘सर्वोच्च अदालतका भ्रष्टाचारीलाई छोड्नु हुँदैन’ भन्दै भिडलाई उक्साएको भिडियो छ। केही समयमै त्यहाँ तोडफोड र आगजनी भएको थियो। भिडियो सार्वजनिक भएपछि ढुंगेलमाथि आलोचना बढे पनि उनले आफूलाई गलत ढंगले प्रस्तुत गरिएको स्पष्टीकरण दिएका छन्।
सिंहदरबारमा गीतकार र संगीतकार
माओवादी निकट संगीतकार चेतन सापकोटा पनि सिंहदरबारमा आक्रामक मुद्रामा देखिएका थिए। झन्डा बोकेर औंला ठड्याउँदै गाली गरेको उनको फोटो भाइरल भयो। उनलाई आगजनीमा उक्साएको आरोप लागे पनि उनले चोरी रोक्न लागेको मात्र दाबी गरेका छन्।
टिकटक स्टार र लोकदोहोरी गायिका
४ लाख ६६ हजार फलोअर्स भएका टिकटक स्टार मनोज केसीले संसद् भवन अघिल्तिर प्रधानमन्त्री ओलीलाई गाली गर्दै भिडियो पोस्ट गरे। आगलागीपछि उनले ‘यो जित जनताको हो’ भन्दै सन्देश दिए।
त्यस्तै, लोकदोहोरी गायिका सुस्मिता क्षेत्री राष्ट्रपति भवन जलिरहेको बेला त्यहीँ देखिइन्। ‘फाइनल्ली राष्ट्रपति भवन गयो’ भन्दै उनले आफ्नै टिकटकमा भिडियो अपलोड गरिन्।
नख्खु कारागारमा भिड
युट्युबर भाग्य न्यौपानेले नख्खु कारागारतर्फ भिडलाई उक्साउने भिडियो पोस्ट गरे। उनले ‘रवि दाइ जेलभित्र होइन, गृहमन्त्रीको कुर्सीमा बस्नुपर्छ’ भन्दै लामिछानेलाई निकाल्न आह्वान गरे। केही बेरमै भिडले कारागारमा आगजनी ग¥यो र १,२८४ कैदीबन्दी भागे। लामिछानेपछि फर्किए पनि भीडको हिंस्रक गतिविधि सामाजिक सञ्जालमा भाइरल बन्यो।
त्यो दिन न्यौपानेले हिल्टन होटललाई देउवा परिवारको सम्पत्ति भन्दै जलाएको दृश्यमा खुशी व्यक्त गरे। झापामा मेयरको घरमा ‘८० किलो सुन भेटिएको’ भन्ने उनको अर्को भिडियो पनि आलोचनाको कारण बन्यो। दमकमा बनेको टावर देखाउँदै उनले ‘यो पनि केही वेरमा खरानी हुन्छ’ भन्दै भीडलाई आक्रोशित बनाए।
सञ्चारमाध्यम र व्यवसायिक संरचना
राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका सहसचिव कृष्णबहादुर तामाङ कान्तिपुर टेलिभिजनमा आगजनी गर्न संलग्न भएको भिडियोमा देखिएका छन्। उनले ‘यसको आज स्वाहा भयो’ भन्दै खुसी व्यक्त गरेको दृश्य सार्वजनिक भयो।
त्यस दिन थापाथलीस्थित कान्तिपुर भवनमा सुरक्षा घेरा तोडेर भीड भित्र पस्दा, ‘कान्तिपुरलाई सुरक्षा किन चाहियो?’ भन्ने नारा गुञ्जिएको थियो। त्यसपछि भवनमा आगजनी भयो। यसैगरी, भाटभटेनी सुपरमार्केट, दर्जनौं निजी घर र कार्यालयहरूमा समेत आगजनी, लुटपाट र तोडफोड गरिएको दृश्य सामाजिक सञ्जालमा खुलेआम देखियो।
नेपाल प्रहरीले यस्ता अराजक गतिविधि गर्ने व्यक्तिहरूको खोजी अगाडि बढाएको छ। प्रहरीले सर्वसाधारणलाई अपिल गर्दै भनेको छ– ‘२३ र २४ भदौमा काठमाडौं उपत्यकासहित देशभर भएको विरोध प्रदर्शनका क्रममा भएका आगजनी, लुटपाट र त्रास सिर्जना गर्ने घटनासँग सम्बन्धित फोटो, भिडियो वा सामाजिक सञ्जालका लिङ्क पठाई सहयोग गर्नुहोस्।’
यो घटनाक्रमले स्पष्ट देखाएको छ की जेन–जी आन्दोलनको नाममा भड्किएका हिंस्रक गतिविधिमा केवल किशोर वा युवा मात्र होइन, स्थापित नेता, कलाकार, टिकटक स्टारदेखि राजनीतिक कार्यकर्तासम्म प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न थिए। आन्दोलनको वास्तविक उद्देश्य ओझेलमा पार्दै सार्वजनिक सम्पत्तिको नोक्सानीमा रमाउने यस्तो ‘अनुहारहरूको भीड’ले नेपालको राजनीतिक चेतना र आन्दोलनको पवित्रता दुवैप्रति गम्भीर प्रश्न उठाएको छ।