क्रोएसिया उड्नै लागेका सन्तोष बोहराको जेनजी आन्दोलनमा दुवै आँखा गुमेः उज्यालोसँगै जीवनका सबै सपना अन्धकारमा
काठमाडौँ— वैदेशिक रोजगारीका लागि क्रोएसिया जान तयारीमा रहेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीका ३५ वर्षीय सन्तोष बोहराको जीवन भदौ २४ गतेको जेनजी आन्दोलनसँगै अन्धकारमा डुब्यो।
उज्यालो भविष्यका लागि संघर्षरत सन्तोष अहिले शिक्षण अस्पताल महाराजगञ्जको बेडमा दुवै आँखा गुमाएर अन्धकारसँगै लडिरहेका छन्। उनको नाक र कान पनि पूर्णरुपमा क्षतिग्रस्त छ।
दुई वर्ष माल्दिभ्समा श्रमिक बनेर ७ महिना अघि मात्रै घर फर्किएका उनी पुन क्रोएसिया जाने तयारीमा थिए। पासपोर्ट तयार थियो, भिसा प्रक्रिया सकिएको थियो भने तीन लाख रुपैयाँ डिपोजिट भइसकेको थियो। तर त्यो सपना आन्दोलनको गोलीसँगै सधैंका लागि अधुरो रह्यो।
भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलन उत्कर्षमा पुगेको थियो। २३ गतेको घटनामा १९ जनाको मृत्यु भएपछि सुर्खेतमा पनि आक्रोश फैलियो। परिवारको विरोधलाई वेवास्ता गर्दै सन्तोषले पनि २४ गते आन्दोलनमा सहभागी हुने निर्णय गरे। बिहानै घरबाट निस्कँदा श्रीमतीले भनेकी थिइन्, ‘आज बजार नजानुस्, आन्दोलन ठूलो हुँदैछ।’ तर उनी अडिएनन्— ‘यो देश हाम्रो हो, आवाज उठाउनै पर्छ।’
दिउँसो १२ बजेतिर सुर्खेत बजारमा आन्दोलन चर्कियो। नगरपालिकाको कार्यालय र कांग्रेस नेता पूर्णबहादुर खड्काको घरतर्फ भीड अघि बढ्दै गर्दा धमला चोकमा प्रहरीसँग मुठभेड भयो। करिब २ बजेको सटीक क्षणमा प्रहरीले भीड नियन्त्रणका लागि गोली चलायो। एउटा गोली घाँटीमा राष्ट्रिय झण्डा बोकेका सन्तोषको दायाँ कन्चटमा लाग्यो। उनी ठाउँमै ढले।
आन्दोलनकारीहरूले उनलाई तत्काल प्रदेश अस्पताल सुर्खेत पु¥याए, त्यहाँबाट नेपालगन्ज र पछि काठमाडौं पठाइयो। चिकित्सकहरूले ज्यान बचाउन प्राथमिकता दिए— टाउकोको हड्डी चर्किएर टुक्रा–टुक्रा भएको थियो, न्युरोलोजिकल क्षति थियो र दुवै आँखा नष्ट भएका थिए। एउटा आँखा घटनास्थलमै झ¥यो, अर्को आँखामा गम्भीर क्षति भएकाले अस्पतालमा निकालियो।
अहिले उनी आँखा त देख्दैनन् नै, गन्ध पनि थाहा पाउँदैनन्। बायाँ कान र वरपरको भाग पनि पूर्ण रूपमा क्षतिग्रस्त छ। श्रीमती निर्मला भन्छिन्, ‘उहाँले विदेश गएर पैसा कमाई हामीलाई सुख दिने सपना देख्नुभएको थियो, तर अब उज्यालो नै देख्न सक्नुहुन्न।’
सन्तोषलाई देख्दा गाउँलेहरू रोएर फर्कन्छन्। उनका बुबाले भने, ‘रोजगारी खोज्ने छोरा आन्दोलनको बलिको बोका बन्यो।’ यो घटनापछि प्रशासन मौन रह्यो। न प्रहरी आएर विवरण माग्यो, न सरकारबाट तत्काल सहयोग। समाजसेवी नवराज बोहोराले फेसबुकमा सन्तोषको कथा लेखेपछि मात्रै जनचासो बढ्यो।
नवराजकै पहलमा उपचार खर्च र सरकारी सहयोगका प्रक्रियाहरू अघि बढे। उनले नै गृहमन्त्री ओमप्रकाश अर्याल र स्वास्थ्य मन्त्रालयलाई सन्तोषको अवस्थाबारे जानकारी गराए। हाल सन्तोष शिक्षण अस्पतालमा न्युरो उपचारमा छन्, पछि तिलगंगा आँखा अस्पतालमा थप उपचार गराइनेछ।
उनको टाउकोमा तीनपटक अप्रेसन भइसकेको छ, कृत्रिम हड्डी हाल्ने तयारी भइरहेको छ। चिकित्सकहरूले उनलाई आंशिक रूपमा बोल्न सक्ने भए पनि दृष्टि फर्काउने सम्भावना शून्य रहेको बताएका छन्।
निर्मला बोहरा भन्छिन्, ‘यदि जनताको आवाज सुनेको भए, यस्तो दिन देख्नुपर्ने थिएन। अब मेरो श्रीमान् आँखा गुमाएर पनि देशका नेताहरूको मौनता सहनु परेको छ।’ सन्तोषको यो पीडाले उनको परिवार वेसहारा वनेको छ। उनको परिवारमा श्रीमती, सानी छोरी र वुबाआमा छन्।
लोकप्रिय
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल

