बालेनलाई ‘अचार बनाउने’ एमाले नेता महेश बस्नेतको धम्की
काठमाडौँ — नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिका मेयर बालेन साहलाई लक्षित गर्दै सार्वजनिक स्थानमा घृणास्पद र आक्रामक शैलीमा चेतावनी दिएका छन्।
बिहीबार आयोजित एक कार्यक्रममा बस्नेतले केही समूहहरूको ‘सामाजिक सञ्जाल डिस्कोर्डमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध योजनाहरू बनाउँदैछ’ भन्ने सूचना पाएपछि यस्तो धम्की दिएका हुन।
‘ड्रोन हमला गर्ने, हामीलाई मार्न आउँछु भनेर योजना बनाउने लुसिफरहरू… गलत उद्देश्यले गुन्डु आयो भने किमा बनाउँछु, अचार बनाउँछु।’ यसरी बोलेको भिडियो र उद्धरण विभिन्न मिडिया र सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ।
बस्नेतले बालेनविरुद्ध थप आरोप लगाउँदै ‘केपी ओलीलाई सिध्याउन योजना बनाएको’ र त्यसको लागि विभिन्न माध्यममा दबाब र कारबाहीको प्रयास भइरहेको सूचना प्राप्त भएको बताएका छन्।
बस्नेतले आफ्नो अभिव्यक्तिलाई आफ्नै ‘रक्षा’ र ‘संगठनको स्वाभिमान’ सँग जोडेर प्रस्तुत गरे। उनले भने—‘हामी आतंकवादी होइनौँ, हामी राजनीतिक संगठन हौँ। तर हाम्रो संगठन र नेताविरुद्ध कसैले आक्रमण गर्न खोजे त्यसको कडा प्रतिकार हाम्रो नैसर्गिक अधिकार हो।’ उक्त वक्तव्यले उनको रक्षात्मक र आक्रामक दुवै राजनीतिक मुद्रा देखाएको विश्लेषकहरूले बताएका छन्।
उनले गृहमन्त्रीलाई समेत चुनौती दिएर भनेका छन् — ‘ताकत भए केपी ओलीलाई समातेर देखाउ।’ यस्तो चुनौतीले सरकारी निकाय र सुरक्षाका अधिकारीहरूसँग सीधा द्वन्द्वको आशङ्का जन्माएको छ।
वस्नेतको अभिव्यक्तिले राजनीतिक तापमान बढाएको र सार्वजनिक बहसमा प्रश्न खडा गरेको छ। आलोचकहरू भन्छन—राजनीतिमा तीखो आलोचना र कडा विरोध हुनु जायज भए तापनि ‘मानवहत्या, हिंसा वा घृणास्पद धम्की’ जतिसुकै प्रसङ्गमा पनि स्वीकार्य हुन सक्दैन।
धम्कीजस्तो हुने अभिव्यक्तिले कानूनी परिणाम निम्त्याउन सक्छ। नेपालको सजाय व्यवस्था र प्रचलित कानुनले सार्वजनिक व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हिंसात्मक धम्की दिने व्यवहारलाई दण्डनीय मान्छ। यस घटनाप्रति राजनीतिक दल र सुरक्षा निकायले सचेत रहनु पर्ने अवस्था आएको विश्लेषकहरु वताउँछन्।

