छोरो प्रदेश सभामा पराजित भएपछि पार्टी फुटाएर हिँडेकी रेणु यादव फेरी उपेन्द्र यादवकै पछाडि

राजविराज — जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक राजनीतिमा फेरि नाटकीय मोड आएको छ। अशोक राई नेतृत्वमा विभाजन भएर बनेको नयाँ जसपा फेरि चिरिँदा सह–अध्यक्ष रेणु यादव बहुमत केन्द्रीय सदस्यसहित उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमै फर्किएकी छन्।

उपेन्द्र यादव र रेणु यादवको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा यसलाई औपचारिक रूपमा ‘पार्टी एकीकरण’ भनिएको छ। तर, अशोक राई भने यस एकता प्रक्रियामा सहभागी भएका छैनन्।

यस घटनाक्रमको पृष्ठभूमिमा आइतबार मात्रै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकीकरणको सहमति भएको थियो। अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित दुवै दलका शीर्ष नेताहरूको संयुक्त बैठकले एकताको निर्णय गरेलगत्तै रेणु यादव समूह जसपा नेपालमा समाहित भएको हो।

जसपा नेपालबाट अलग भएर नयाँ दल गठन गरेका अशोक राईको पार्टी अब बहुमत केन्द्रीय सदस्यविहीन बनेको रेणु यादवको दावी छ। रेणु यादव जसपामा फर्किएसँगै अशोक राई नेतृत्वको दल कमजोर बनेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

रेणु यादव यसअघि २०६५ सालमा शिक्षामन्त्री र २०७८ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेकी अनुभवी नेतृ हुन्। उनको पुनरागमनले उपेन्द्र यादव नेतृत्वको जसपामा संगठनात्मक बल थपिएको दाबी पार्टीभित्रै हुन थालेको छ।

विभाजनको जरोः उपेन्द्र–रेणु तिक्तता र २०७९ को निर्वाचन

जसपा विभाजनको मूल कारण बाह्यभन्दा पनि आन्तरिक विवाद नै भएको निष्कर्ष पार्टीका नेता–कार्यकर्ताहरूले निकालिरहेका छन्। विशेषतः अध्यक्ष उपेन्द्र यादव र नेतृ रेणु यादवबीच लामो समयदेखि चल्दै आएको तिक्तता २०७९ को निर्वाचनमा आएर विस्फोट भएको थियो।

टिकट वितरणलाई लिएर प्रतिनिधिसभामा केही सहमति बने पनि प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं. ४ (ख) मा तीव्र विवाद भयो। अन्ततः रेणु यादवका छोरा अभिषेक यादवले टिकट पाए। यसले मृगेन्द्रप्रसाद सिंह यादव परिवार असन्तुष्ट बनेर विद्रोहमा उत्रियो।

मृगेन्द्रका भाइ अनिरुद्रप्रसाद सिंह यादवले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिए र अभिषेकलाई २ हजार ६५ मतले पराजित गर्दै निर्वाचित भए। यो हारले रेणु–उपेन्द्र सम्बन्ध थप चिसिएको स्रोतहरू बताउँछन्।

यसै निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव स्वयं सप्तरी–२ बाट प्रतिनिधिसभा चुनाव हार्न पुगे। प्रदेशसभातर्फ रेणु निकट अभिषेक यादव र शैलेन्द्र साह दुवै पराजित भए। चुनावपछि पार्टीभित्र समानान्तर समिति गठन हुन थाले।

सप्तरीमा उपेन्द्र पक्षबाट केदार यादव र रेणु पक्षबाट विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव नेतृत्वमा अलग–अलग जिल्ला संरचना बने। सिरहामा पनि यस्तै अवस्था देखियो।

यसैक्रममा १६ वर्षअघिको हत्या प्रकरणमा अनिरुद्र यादव पक्राउ परेपछि प्रदेशसभा सदस्यबाट निलम्बन भए। दुई महिनापछि धरौटीमा छुटेपछि उपेन्द्र यादव स्वयं गएर उनलाई जसपामा प्रवेश गराए। यस घटनाले रेणु पक्ष झन् असन्तुष्ट बनेको स्रोतहरूको दाबी छ।

पार्टीभित्रको यो दरारको फाइदा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले उठाए। जसका कारण्ढा जसपा नेताल फुटेर अशोक राई र रेणुको टिमले अर्को जसपा गठन गर्यो। उपेन्द्र यादव र माधवकुमार नेपाल कांग्रेससँग नजिकिँदै सत्ता समीकरणमा सौदाबाजी गर्न थालेपछि दाहाल–ओलीले त्यसको अवसर उपयोग गरेको विश्लेषण गरिन्छ।

अशोक राई एमाले पृष्ठभूमिका नेता हुन् र उनलाई प्रतिनिधि सभा चुनावमा ओली स्वयं खटिएका थिए। राई नेतृत्वमा सात सांसदले जसपा फुटाएका थिए। अहिले रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यको पुनरागमनले जसपा नेपालको आन्तरिक शक्ति सन्तुलन फेरिएको छ। तर, विभाजन, पुनःएकीकरण र सत्ता समीकरणको खेल अझै टुंगोमा पुगेको छैन।

मधेश केन्द्रित राजनीतिमा जसपाको भविष्य अब संगठन सुदृढीकरण र आपसी अविश्वास अन्त्यमा निर्भर हुने देखिन्छ। पछिल्लो समिकरण पनि फागुनमा तोकिएकोे निर्वाचन लक्षित भएको र पुराना समस्या फेरी वल्झिन सक्ने कतिपयले विश्लेषण गरिरहेका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट