मृगेन्द्र परिवारको राजनैतिक वैमानीले उपेन्द्र–रेणुमा फाटोः यस्तो छ पार्टी विभाजनको नालिवेली

राजविराज– जनता समाजवादी पार्टी विभाजन भएपछि सामाजिक सञ्जालमा नेता–कार्यकर्ताको रोईलो छ। दुई पक्षका नेता/कार्यकर्ता आफनो पक्षको बचाउ र अर्को पक्षका नेताहरुलाई गद्दार भनिरहेका छन्।

सत्ता स्वार्थका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपेन्द्र नेतृत्वको पार्टी फुटाएको आरोप पनि लागि रहेको छ। कतिपयले त विदेशी शक्ति केन्द्रले चलखेल गरेर पार्टी फुटाएको आरोप लगाउन समेत भ्याई सके।

तर, समग्रमा हेर्ने हो भने जसपा विभाजनको प्रमुख कारण भनेको आन्तरिक विवाद नै हो। त्यसमाथि पनि अध्यक्ष उपेन्द्र यादव र पूर्व शिक्षामन्त्रीसमेत रहेकी नेतृ रेणु यादवबीचको तिक्तताको परिणाम निकै लामो समय पछि विभाजनमा देखिएको हो।

पार्टी विभाजनमा पर्दाअगाडि ७ जना सांसदहरु देखिए। तर, यसको नेतृत्व कार्यकारिणी सदस्यसमेत रहेकी रेणु यादवले नै गरेकी हुन, सांसद नभएका कारण भुमिका नदेखिको मात्रै हो। पर्दा पछाडि उनकै नेतृत्वमा पार्टी विभाजनले पूर्णता पाएको स्रोतको दावी छ। अशोक राई नेतृत्वको नयाँ दलमा रेणु सहअध्यक्ष छिन्।

उपेन्द र रेणुको राजनीतिक सहकार्य निकै लामो छ। उनीहरु निकै निकट र घनिष्ठ मानिन्थे। तर, पछिल्लो समय उनीहरुका बीचमा खटपट सुरु भयो। यो खटपटमा आगोमा घ्यु थप्ने काम ०७९ को निर्वाचनमा भयो। यो निर्वाचनमा कार्यकारिणी सदस्य मृगेन्द्रप्रसाद सिंह यादव (हाल राष्ट्रिय सभा सदस्य) परिवारबाट भएको राजनीतिक वैमानीको असर पार्टी विभाजनमा पुगेर अन्त्य भएको पार्टीका स्थानीय नेता/कार्यकर्ता बताउँछन्।

उनीहरुका अनुसार निर्वाचन पूर्व टिकट वितरणलाई लिएर निकै रस्साकस्सी भएको थियो। प्रतिनिधि सभातर्फ लगभग सहमति वनेपनि प्रदेश सभातर्फ सप्तरी क्षेत्र नं. ४ (ख) मा तानातानको अवस्था आयो। अन्ततः रेणु यादवका छोरा अभिषेकले टिकट पाए। तर, टिकट वितरणलाई लिएर मृगेन्द्र परिवारले विद्रोह गर्यो।

अनिरुद्रप्रसाद सिंह यादव (मृगेन्द्रका भाई) ले तत्कालै पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरे। निर्वाचन परिणाम आउँदा अभिषेकलाई २ हजार ६५ मतले पराजित गर्दै अनिरुद्र निर्वाचित भए। अनिरुद्रले ९ हजार ९८५ मत ल्याउँदा अभिशेकको ७ हजार ९२० मत मात्रै आयो।

अनिरुद्र स्वतन्त्रबाट चुनाव लडे पनि मृगेन्द्रकुमार सिंह यादवले उनलाई सघाएको रेणु यादवको आरोप थियो। चुनावमा मृगेन्द्रलगायत पार्टीका अन्य नेताहरूले पनि खुलेर अनिरुद्रलाई सघाएका कारण अभिषेक हारेको रेणु यादव पक्षले दाबी गर्दै आएको छ।

यति मात्रै होईन, यो निर्वाचनमा दुवै पक्षका नेताहरु एक अर्कालाई हराउन लागेका थिए। यसको असर प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ देखियो। सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा दोहो-याएर उम्मेदवारी दिएका जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं चुनाव हारे। जनमत पार्टीका अध्यक्ष सीके राउत यो क्षेत्रबाट सांसद छन्।

प्रदेश सभातर्फ रेणु पक्षका अभिषेक र दोहो-याएर उम्मेदवारी दिएका नेता शैलेन्द्र साह (रेणु निकट) दुवै हारे। निर्वाचनपछि दुवै पक्षले समानान्तर कमिटिको अभ्यास सुरु गरे। सप्तरीकै कुरा गर्दा केदार यादवको नेतृत्वमा उपेन्द्र यादव र विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवको नेतृत्वमा रेणु पक्षको जिल्ला संरचना छ। सिरहामा पनि दुवै पक्षका जिल्ला समिति सकृय छन्।

यो प्रकृया चलिरहेकै वेला १६ वर्षअघिको एउटा हत्या प्रकरणमा अनिरुद्र पक्राउ परे। १८ भदौमा पक्राउ परेका उनलाई प्रदेश सभाले निलम्वन गर्यो। तर, २ महिनापछि धरौटीमा हिरासतमुक्त भएका उनी जसपामा प्रवेश गरे। उपेन्द्र आफैं गएर उनलाई पार्टीमा भित्र्याए। यो प्रकरणले रेणु पक्ष अझै चिढिएको स्रोतको दावी छ।

यसरी परिवार मोहका कारण दुई नेताबीच हुर्किएको राजनीतिक दुस्मनीले रेणु पक्ष कुनै वेला पनि पार्टी विभाजन गर्न तयारी अवस्थामा थियो। यसको फाईदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालले उठाए। जसपा अध्यक्ष उपेन्द्र र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कांग्रेससँग हिमचिम वढाएर सत्ता समीकरणमा वार्गेङ गर्न थालेपछि दाहाल र ओलीले यो अवसरलाई उपयोग गरेका हुन।

नेता अशोक राईको नेतृत्वमा ७ सांसदले पार्टी विभाजन गरेपछि वैकल्पिक गठवन्धन बन्ने सम्भावन सकिएको छ। अब उपेन्द्र यादवसँग ५ सांसदमात्रै छन्। जसपा विभाजन गर्ने राई एमाले पृष्ठभूमिका हुन्। उनलाई धरानमा चुनाव जिताउन ओली आफैं खटिएका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट