जसपाका अध्यक्ष उपेन्द्र र रेणु यादवको विवाद उत्कर्षमा, लहान र राजविराजमा छुट्टाछुट्टै भेला
राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेतृ रेणुकुमारी यादवबीचको विवाद उत्कर्षमा पुगेको छ। दुई नेताको विवादका कारण आज लहान र राजविराजमा छुट्टाछुट्टै कार्यक्रम आयोजना भएका छन्।
उपेन्द्र यादव पक्षले लहानमा मधेस प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रम चलाई रहेको छ भने रेणु पक्षले राजविराज स्थित जिल्ला समन्वय समितिको सभा हलामा छुट्टै भेला बोलाएको छ। यो समुहमा मधेश प्रदेश सभाका पूर्व सदस्य एवम् पूर्वमन्त्री शैलेन्द्र साहसमेत छन्।
दुई नेताको विवादमा पार्टीको जिल्ला समिति पनि विभाजित देखिएको छ। अध्यक्ष केदार यादव उपेन्द्र पक्षमा र उपाध्यक्ष उमेश यादव लगायतका नेता रेणु पक्षमा खुलेका छन्। उपाध्यक्षका अनुसार सचिवलगायत अन्य वहुमत पदाधिकारी रेणु पक्षमा छन्।
जसपामा ०७९ को स्थानीय चुनावदेखि नै विवाद छ। विवादकै कारण रेणु यादवले पार्टी फुटाउन लागेको चर्चा समेत चलेको थियो। त्यस बेला पार्टी फुटबाट जोगिएपनि चुनावमा टिकट वितरणमा ठुलो विवाद देखिएको थियो।
दुवै पक्षका नेताहरु एक अर्कालाई हराउन लागेका थिए। यसको असर प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि देखिएको थियो। पार्टीको आन्तरिक विवादकै कारण सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि चुनाव हारे। उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पराजित गरेका थिए।
प्रदेश सभा सदस्यमा दोहो¥याएर उम्मेदवारी दिएका नेता शैलेन्द्र साहले पनि चुनाव हारेका थिए भने नेतृ रेणु यादवका छोरा अभिषेक यादवले पनि चुनावमा पराजय भोग्नु परेको थियो। यही विवाद वढ्दै जाँदा अहिले छुट्टाछुट्टै भेला बोलाउनेसम्मको अवस्था आएको नेताहरु वताउँछन्।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

