हत्या आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका अनिरुद्र जसपामै फर्किए, शिक्षा मन्त्री बन्दै

राजबिराज— १६ वर्षअघिको एउटा हत्या प्रकरणमा १८ भदौमा पक्राउपछि २ महिना हिरासत बसेर धरौटीमा रिहा भएका प्रदेश सभा सदस्य अनिरुद्रप्रसाद सिंह यादव जसपामा प्रवेश गरेका छन्।

सप्तरीको बोदे बर्साइन नगरपालिकामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले उनलाई अबिर मालासहित पार्टीमा भित्र्याएका छन्।

बिगतमा जसपामै रहेका प्रदेश सभा सदस्य यादव मंसिर ०७९ को निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि रुष्ट भएका थिए। उनी तत्कालै पार्टी छोडेर सप्तरी क्षेत्र नं. ४ (ख) मा स्वतन्त्र उम्मेदवार बने। निर्वाचनमा उनले जसपाकै उम्मेदवार अभिषेक यादवलाई २ हजार ६५ मतले पराजित गरे। निर्वाचन परिणाम अनुसार अनिरुद्रले ९ हजार ९८५ मत ल्याउँदा अभिशेकले ७ हजार ९२० मत पाएका थिए।

अनिरुद्रसँग पराजित भएका अभिषेक जसपाकी कार्यकारिणी सदस्य रेणु यादवका छोरा हुन। अनिरुद्र स्वतन्त्रबाट चुनाव लडे पनि जसपाका कार्यकारिणी सदस्य एवम् राष्ट्रियसभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले उनलाई सघाएको रेणु यादवको आरोप थियो। मृगेन्द्र र अनिरुद्र दाजु–भाइ हुन्। चुनावमा मृगेन्द्रलगायत पार्टीका अन्य नेताहरूले पनि खुलेर अनिरुद्रलाई सघाएका कारण अभिषेक हारेको रेणु यादव पक्षले दाबी गर्दै आएको छ।

प्रदेश सदस्यमा निर्वाचित भएको झण्डै एक वर्षपछि उनी पक्राउ परे। प्रदेश सभाले उनलाई निलम्बन गर्यो। २३ कात्तिकमा उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको इजलासले जिल्ला अदालत सप्तरीको १९ भदौको आदेश बदर गर्दै यादवलाई १ लाख २० हजार रुपैयाँ धरौटीमा छाडेको हो।

अहिले उनी पूनः पुरानै पार्टीमा फर्किएका हुन। स्रोतका अनुसार उनी मधेश सरकारमा शिक्षा मन्त्री पाउने तयारीमा छन्। जनमत पार्टी सरकारबाट वाहिरिएपछि शिक्षा मन्त्रालय खाली छ। यसअघि जनमत पार्टीका प्रदेशसभा सदस्य महेश यादव शिक्षा मन्त्री थिए।

यता, अनिरुद्रको परिवार नै भ्रष्टाचार, अपराध र दोहोरो नागरिक्ताका कारण विवादमा छ। उनका छोरा बोदेबर्साइन नगरपालिकाका मेयर आतेशसिंह यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा चलाएको छ। दोहोर्याएर मेयरमा निर्वाचित भएका आतेशसिंह अझै पनि निलम्बनमा छन्।

राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवमाथि पनि दोहोरो नागरिक्ताको आरोप छ। भारतीय नागरिक रहेका यादवले नेपालको नागरिक्ता लिएर कानुन विपरितको काम गरेको भन्दै राष्ट्रिय सभामै उजुरी दर्ता छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट