उपेन्द्र यादवसँग फोनमै चर्काचर्की परेपछि जसपाका प्रदेश अध्यक्षले दिए राजिनामा

काठमाडौं– राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसँग भनाभन भएपछि जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले राजिनामा दिएका छन्।

उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अशोकले राजीनामा दिएका हुन्। प्रदेश अध्यक्ष यादवको राजीनामालाई महाधिवेशनसँग जोडेर चर्चा र विश्लेषण गर्न थालिएको छ।

प्रदेश अध्यक्षको राजीनामाले केन्द्र तथा लुम्बिनी प्रदेश कमिटीमा विवाद सुरु भएपछि पार्टीका कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज राजकिशोर यादव त्यसको समाधानका लागि खटिएका छन्।

महाधिवेशनको मुखमा पार्टीमा देखिएको विवादलाई समाधान गर्नका लागि कार्यकारिणी सदस्य यादव लुम्बिनी प्रदेश पुगेको जनाईएको छ। उपेन्द्र यादवले प्रदेश कमिटीसँग कुनै सल्लाह नै नगरी मनमौजी ढङ्गले नियुक्ती र मनोनयन गरेपछि विवाद सुरु भएको हो।

त्यो विषयमा अशोकले फोन गरेर उपेन्द्रसँग कुरा गरेका थिए। फोनमै दुई जनाबिच चर्काचर्की भएपछि अशोकले राजीनामा दिएका हुन्। उनले राजीनामा पत्र पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्य रेणु यादव र लुम्बिनी प्रदेशका इन्चार्ज राजकिशोर यादवको वाट्सएपमा पठाएका छन्।

तर हालसम्म उनको राजीनामा स्वीकृत भने भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट