बिहेको प्रलोभन देखाई १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक पक्राउ

राजविराज — बिहे गर्ने आश्वासन दिएर सप्तरीको राजविराज नगरपालिकाकी एक १२ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक नाबालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पीडित बालिकासँग तीन–चार महिनाअघि चिनजान भएका १७ वर्षका नाबालक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार साँझ आरोपित नाबालकले ‘बिहे गर्छु’ भन्दै बोलाएर नाबालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ। घटनापछि पीडित बालिकाले परिवारलाई सम्पूर्ण विवरण सुनाएकी थिइन्। त्यसलगत्तै परिवारले आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा औपचारिक जाहेरी दिएका थिए।

जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले आरोपित नाबालकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार घटना अनुशन्धानका लागि अदालतबाट म्याद लिइएको छ।

‘नाबालकमाथि जबर्जस्ती करणी मुद्दामा सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ,’ डीएसपी पुरीले भने। प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शको प्रक्रिया पनि अघि बढाइएको छ।

घटनासँग सम्बन्धित थप तथ्य, प्रमाण संकलन र बयानका आधारमा अनुसन्धानलाई निष्कर्षतर्फ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। यसअघि सप्तरीमा यस्तै प्रकृतिका घटनाहरू सार्वजनिक हुँदै आएका छन्।

गत मंसिर ६ गते हनुमाननगर कंकालिनी नगरपालिकाकी १५ वर्षीया बालिकालाई बिहेको प्रलोभनमा झापाको बिर्तामोड बोलाएर २१ वर्षका युवकले बलात्कार गरेको आरोप लागेको थियो। त्यो घट्नामा झापा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट