सप्तरीः जमिन नाप्ने कार्यालयमा हाकिमको घाँटी नापियो— सय किलोको माला र चाकडी शासनको वास्तविक तस्वीर (फोटो फिचर)
राजविराज– सप्तरीमा यतिवेला एउटा फूलको माला असाध्यै चर्चामा छ। सामाजिक सञ्जालदेखि चिया पसलसम्म उक्त मालाबारे टिकाटिप्पणी चलिरहेको छ। तर यो चर्चा माला आफैं विशेष जातको वा दुर्लभ पहिचान बोकेको भएर होइन, माला लगाइने व्यक्ति र त्यसले दिएको सन्देशका कारण हो।
सप्तरीस्थित नापी कार्यालयमा नयाँ हाकिम शत्रुधन यादवको आगमनमा सय किलोभन्दा बढी तौलको माला लगाइएपछि यो बहसले सार्वजनिक रूप लिएको हो। प्रशासनिक दृष्टिले नयाँ प्रमुखको आगमन नियमित प्रक्रिया हो, र स्वागत गर्नु अस्वाभाविक पनि होइन। नयाँ जिम्मेवारी सम्हाल्न आएका कर्मचारीलाई शुभकामना दिनु सामान्य प्रशासनिक संस्कारभित्र पर्छ।
तर स्वागतकै नाममा गरिएको यो असाधारण र अतिशयोक्तिपूर्ण प्रदर्शनले भने आम नागरिकदेखि सचेत वर्गसम्मलाई अचम्मित बनाएको छ। सय किलोभन्दा बढी तौलको माला देख्दा स्वाभाविक रूपमा प्रश्न उठ्छ— के यस्तो भव्य स्वागत नापी कार्यालयकै कुनै नियम, प्रावधान वा संस्थागत संस्कारअनुसार गरिएको हो ? कि यो स्वागतको नाममा शक्ति प्रदर्शन, चाकडी संस्कृति र आन्तरिक स्वार्थको सन्देश हो ?
नापी कार्यालय कुनै राजनीतिक मञ्च होइन। यो भाषण, तामझाम र प्रदर्शनका लागि बनाइएको थलो पनि होइन। यो एक प्राविधिक र सेवामुखी सरकारी निकाय हो, जहाँ नागरिकहरू नाप–नक्सा, लालपुर्जा, जग्गा दर्ता, सिमाना मिलानजस्ता आधारभूत सेवाका लागि महिनौँसम्म कुर्न बाध्य छन्। यस्तो कार्यालयमा सेवाग्राहीका फाइलहरू थन्किरहेका बेला, कर्मचारी र दलालको चाकडीमा सय किलोको माला प्रयोग हुनु सामान्य नागरिकका लागि अनौठो मात्र होइन, अपमानजनक र पीडादायी अनुभूति हो।
राष्ट्रसेवक कर्मचारीहरू जनताको सेवा गर्न नियुक्त हुन्छन्। उनीहरूको वास्तविक सम्मान फूलको थुप्रोबाट होइन, काम, निष्पक्षता, पारदर्शिता र सेवाबाट आउनु पर्छ। व्यक्तिगत भव्यता, देखावटी हर्षोल्लास र तामझामले प्रशासनप्रतिको विश्वास बढाउँछ कि घटाउँछ—यो गम्भीर बहसको विषय हो।
नापी कार्यालयमा नक्सा खोलिनुअघि सय किलोको माला खोलिएको दृश्य बाहिर आयो। सेवाग्राहीका समस्या फाईलमा थन्किईरहे, तर फूलको तौलले प्रशासन थिचिएको सन्देश वाहिर आयो। यसले नापी कार्यालयमा अब नक्सा होइन, माला राजनीति सुरु भएको संकेत दियो।
सेवाग्राहीहरु भन्छन–‘स्वागत गर्नु अपराध होइन। तर स्वागतकै नाममा गरिएको अतिशयोक्ति प्रदर्शन प्रशासनिक संस्कृतिको अपमान हो। नापी कार्यालय जमिन नाप्न बनेको हो, हाकिमको घाँटी नाप्न होइन।’
‘जनताले नापी कार्यालयबाट छिटो सेवा खोजेका हुन् कि, हाकिमको फोटो फेसबुकमा हेर्न ?’ उनिहरुको प्रश्न छ–‘नापीले सिमाना मिलाउने हो कि, चाकडीको सीमा बढाउने ?’ सय किलोको माला देख्दा यस्तो आभास हुन्छ कि यहाँ योग्यता, कार्यक्षमता र सेवा होइन, वजनदार चाकडी नै मुख्य मापदण्ड बन्दै गएको छ। नापी कार्यालय अब नापजोख गर्ने निकायभन्दा पनि ‘कति ठूलो स्वागत भयो’ भनेर मापन गर्ने कार्यालयजस्तो देखिन थालेको छ।
सर्वसाधारण भन्छन्–‘यदि यही शैली नयाँ हाकिमको सुरुवात हो भने, भोलि कुनै सेवाग्राहीलाई नक्सा चाहियो भने—पहिले माला चढाएर मात्रै नम्बर लाग्ने हो कि ?’
उसो त, माला संस्कृति नापी कार्यालयमै सीमित छैन। सप्तरीमा हाकिमको पदस्थापन र विदाइलाई भव्य बनाउने एउटा सक्रिय समूह नै छ। यो समूह विशेषगरी सीडीओ र एसपीको सरुवामा माला लगाउने, दोसल्ला ओढाउने र पुष्पगच्छा चढाउने काममा अग्रसर देखिन्छ।
विडम्बना के छ भने, सप्तरी अनेक गम्भीर समस्याले ग्रस्त छ। सदरमुकाममै गहिरा संकटहरू आँखै अगाडि छन्। भारतीय नागरिकले किर्ते नागरिकता लिएर शिक्षा, स्वास्थ्यलगायतका संवेदनशील क्षेत्र कब्जा गरेका छन्। प्रशासन खरिद गरेर बसेको आरोप खुल्लमखुल्ला छ। यही शक्तिले नेपाल पत्रकार महासंघजस्तो संस्थासमेत हाँकिरहेको आरोप लागिरहेको छ। पत्रकारितासँग जोडिएका व्यक्तिका परिवारै गाँजा तस्करीमा जोडिएका तथ्यहरू बाहिरिएका छन्। गाँजा कारोवारमा संलग्न ब्यक्ति फराररहेको भन्दै प्रहरी निदाएको छ। तर, ति ब्यक्तिहरु सदरमुकाममा सार्वजनिक कार्यक्रममै देखिन्छन्। प्रहरी प्रशासन नै उनीहरूको संरक्षणमा देखिन्छ। पत्रकार चुपचाप छन्। पत्रकार महासंघजस्तो संस्थाभित्र तिनै आरोपित ब्यक्तिहरुको हालिमुहाली छ।
करोडौं खर्च गरेर छात्राबास अलपत्र छोडिएको छ। त्यसको नाममा राजनीति गर्ने र पैसा कमाउनेहरूको होडवाजी छ। सडक, नाला, सरसफाईको विचल्ली छ। गाउँका गाउँ शौचालय विहिन छन्। जसका कारण मानिसले अकालमा ज्यान गुमाएको उदाहरण ताजै छ। कार्यालयहरुमा पैसा विना कामै नहुने समस्याले सर्वसाधारण आजित छन्। स्थानीय तहका प्रतिनिधि र कर्मचारीहरु घुस लिँदालिँदै पक्राउ परेर अख्तियारले डाम्ने क्रम जारी छ। पत्रकारितासँग जोडिएका ब्यक्ति स्थानीय तहको ठेक्कापट्टामा संलग्न भएर अख्तियारले मुद्दा चलाएको विषय ताजै छ।
तर यस्ता गम्भीर विषयमा कसैले आवाज उठाउँदैन। बरु आफ्नो जिम्मेवारीसमेत पूरा नगर्ने सीडीओ र एसपीलाई माला चढाएर उनीहरूको अकर्मण्यतालाई ढाकछोप गरिन्छ। यसरी सप्तरीमा प्रशासनिक मूल्यांकन अब काम र परिणामबाट होइन, मालाको तौल, स्वागतको भव्यता र चाकडीको गहिराइबाट हुन थालेको छ।
‘यो केवल एउटा माला होइन—यो प्रशासनिक पतन, मौनता र गलत प्राथमिकताको प्रतिक हो।’ नागरिक भन्छन्, ‘स्वागतको विरोध होइन, तर मर्यादा, सादगी र संस्थागत संस्कारको पक्षमा प्रश्न उठाउनु अपराध होइन।’



