झापा–५ को चुनावी तापक्रम चुलिँदैः दमकमा रास्वपा–एमाले कार्यकर्ताबीच झडप, ओलीविरुद्ध नाराबाजीपछि तनाव

दमक — प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्तासँगै झापा–५ को राजनीतिक माहोल तातेको छ। झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप सुरु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। झापा–५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन्द्र साह (बालेन) नेतृत्वको टोली जुलुससहित निर्वाचन अधिकृतको कार्यालयतर्फ जाँदै गर्दा रास्वपा कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए। सोही क्रममा दुवै पक्षका कार्यकर्ता आमनेसामने हुँदा धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको हो।

घटनापछि दमक आसपास सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ भने अहिले पनि अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको जनाइएको छ। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले झापा क्षेत्र नम्बर ५ बाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

गएराति झापा पुगेका साह केही बेरअघि समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। उनको प्रस्तावक भेषराज भट्टराई र समर्थक भूमिनन्द बराल रहेका छन्। उता, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज अपराह्न ४ बजे झापा–५ बाट मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।

ओलीको आगमनलाई लिएर एमाले कार्यकर्ता समेत दमक र आसपास क्षेत्रमा परिचालित छन्। यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भने झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराइसकेका छन्। एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच झापाका दुई निर्वाचन क्षेत्रमा अघोषित समझदारी रहेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।

झापा–५ मा एकातिर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, अर्कोतिर रास्वपाका चर्चित अनुहार बालेन्द्र साह चुनावी मैदानमा उत्रिँदा प्रतिस्पर्धा मात्र होइन, सडकस्तरमै तनाव र ध्रुवीकरण देखिन थालेको छ। मनोनयनकै दिन भएको झडपले कडा राजनीतिक भिडन्तको संकेत दिएको विश्लेषकहरूको टिप्पणी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट