भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गर्दा चिल्लिए बालेनः बुबाको जुठो बोकेर मन्दिर दर्शन
राजविराज— काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) ले ताप्लेजुङस्थित पाथिभरा मन्दिरको दर्शन गरेको विषयले अहिले राजनीतिक मात्र होइन, धार्मिक–सांस्कृतिक बहसलाई पनि चर्काएको छ।
यही विषयलाई लिएर नेकपा एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमा लेखेको एउटा फेसबुक स्ट्याटसपछि बालेनको पछिल्लो गतिविधि कडा आलोचनाको घेरामा परेको छ। बस्नेतले आफ्नो स्ट्याटसमा हिन्दु संस्कारको सीधा प्रश्न उठाएका छन—आफन्त, विशेषगरी बा–आमाको निधनपछि पूजा–दर्शन गर्न मिल्छ कि मिल्दैन ? उनको जवाफ स्पष्ट छ—मिल्दैन।
हिन्दु संस्कारअनुसार बा–आमा वा नजिकको आफन्त बितेपछि एक वर्षसम्म अशौच (जुठो) मानिन्छ, यो अवधिमा देवदर्शन, पूजा–पाठ र ठूला धार्मिक कर्म निषेध हुन्छन्। यही आधारमा उनले चुनावको मुखमा पाथिभरा दर्शनलाई अनुचित र बेठिक भन्दै धर्मलाई चुनावी प्रचारको साधन बनाउनु संस्कारविपरीत र नैतिक रूपमा गलत भएको टिप्पणी गरेका छन्।
यो स्ट्याटसपछि मिश्रित प्रतिक्रिया आए पनि एउटा गम्भीर प्रश्न उठेको छ—बालेनमा देखिएको पछिल्लो मन्दिर मोह साँच्चिकै धर्मप्रतिको सम्मान हो कि योजनाबद्ध राजनीतिक फण्डा ? बालेनका पिता रामनारायण साहको निधन मंसिर १५ गते भएको थियो। हिन्दु धर्म–संस्कारअनुसार मातापिताको निधनपछि एक वर्षसम्म जुठो लाग्ने र मन्दिर दर्शनमा जान नमिल्ने स्पष्ट मान्यता छ।
तर यही अवधिमा बालेन विभिन्न मठ–मन्दिर र शक्तिपीठ धाइरहेका छन्। यसले उनी स्वयंलाई धर्म–संस्कृतिप्रति न जानकारी छ, न चासो नै भन्ने आलोचना तीव्र बनेको छ। आलोचकहरूका अनुसार यो आस्था होइन, फागुन २१ गते हुने निर्वाचनमा हिन्दुवादी मतदातालाई प्रभावित पार्ने सोझै रणनीति हो।
यहीँबाट बालेनको तुलना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुन थालेको छ। आफ्ना धेरै व्यक्तिगत विषयहरू गोप्य राख्ने तर मन्दिर दर्शन, शक्तिपीठ यात्रा र धार्मिक कर्मलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने शैली मोदीको परिचित राजनीतिक हतियार मानिन्छ। चुनाव नजिकिँदा हिन्दुत्वको भावनालाई नरम तर प्रभावकारी रूपमा प्रयोग गर्ने मोदीको ‘सफ्ट हिन्दुत्व’ रणनीति भारतमा सफल भइसकेको चर्चा छ। अहिले बालेनले पनि त्यही बाटो समातेको आरोप लाग्दैछ।
बालेनको प्राथमिकता र राजनीतिक सन्देशलाई लिएर अर्को प्रश्न पनि उठाइएको छ। आफ्नै कार्यालयबाट एक घण्टामै पुग्न सकिने जेन–जी आन्दोलनसँग जोडिएका शहीदको शवयात्रामा उनी देखिएनन्। तर ताप्लेजुङको पाथिभरामा भने घण्टौँ उकालो हिँडेर पुगे। जनकपुरमा पहिलो राजनीतिक भाषण गर्नुअघि जानकी मन्दिर दर्शनको प्रचार व्यापक रूपमा गरियो। यी सबै गतिविधिले सामाजिक मुद्दा र जनसंवेदनाभन्दा धार्मिक प्रतीकलाई प्राथमिकता दिइएको सन्देश दिएको आलोचकहरूको निष्कर्ष छ।
राष्ट्रिय स्वतन्त्र पार्टी औपचारिक रूपमा हिन्दुराज्यको पक्षधर पार्टी होइन। तर बालेनका गतिविधिले ‘म पनि हिन्दुवादी मतदाताको पक्षमै छु’ भन्ने संकेत दिन खोजिएको देखिन्छ। खुलेर हिन्दुत्वको नारा नलगाए पनि नरम हिन्दुत्वमार्फत मत तान्ने प्रयास भइरहेको आरोप छ। यही रणनीति भारतमा मोदीको चुनावी मन्त्रका रूपमा परिचित छ, र अहिले त्यसको प्रतिछायाँ नेपाली राजनीतिमा देखिन थालेको टिप्पणी हुन थालेको छ।
पाथिभरा दर्शन अब एउटा धार्मिक यात्रामा सीमित छैन। यो प्रसंगले बालेनको राजनीतिक चरित्र, धर्म–संस्कृतिप्रतिको बुझाइ र चुनावी रणनीतिमाथि गम्भीर प्रश्न खडा गरेको छ। बुबाको जुठोको अवधिमा मन्दिर धाउने कार्य आस्था हो कि राजनीतिक प्रदर्शन ? यसको अन्तिम फैसला सामाजिक सञ्जालको बहसले भन्दा पनि मतदाताको विवेकले गर्नेछ।

