सिरहामा मन्त्रीहरूको भिडन्तः नौ पूर्वमन्त्री मैदानमा, क्षेत्र नम्बर ४ मा सबैभन्दा चर्को प्रतिस्पर्धा

लहान– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिरहाको राजनीतिक तापक्रम बढिरहेको छ। सिरहाको चारवटै निर्वाचन क्षेत्रमा यसपटक राष्ट्रिय राजनीतिमा पहिचान बनाइसकेका र मन्त्री भइसकेका नौजना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

पुराना शक्ति केन्द्रहरू आपसमा ठोक्किँदा सिरहा निर्वाचन मुलुककै चासोको केन्द्र बन्दै गएको छ। सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता र विपक्षका चर्चित अनुहारबीच प्रत्यक्ष टक्कर देखिएको छ। नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिन्छ। दुवै नेता आ–आफ्नो राजनीतिक आधार मजबुत पार्ने प्रयासमा छन्, जसले यो क्षेत्रलाई निकै रोचक बनाएको छ।

निर्वाचन क्षेत्र नम्बर ३ मा पनि अनुभवी र पुराना नेताबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ र नेकपाबाट पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री विश्वनाथ साह चुनावी मैदानमा उत्रिएका छन्। लामो राजनीतिक अनुभव बोकेका यी दुई नेताबीचको भिडन्तलाई स्थानीय मतदाताले नजिकबाट नियालिरहेका छन्।

सबैभन्दा बढी चर्चा भने सिरहा निर्वाचन क्षेत्र नम्बर ४ को भईरहेको छ। यहाँ एकै क्षेत्रमा पाँच जना पूर्वमन्त्री प्रतिस्पर्धामा छन्। जनता समाजवादी पार्टी नेपालबाट पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, नेकपाबाट पूर्वन्याय तथा कानुनमन्त्री अजयशङ्कर नायक र नेकपा (एमाले)बाट पूर्वसामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यही क्षेत्रमा जनमत पार्टीबाट पूर्ववन तथा वातावरणमन्त्री वीरेन्द्र महतो र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वविज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवान पनि चुनावी दौडमा छन्।

पटक–पटक मन्त्री भइसकेका नेताको बाहुल्यताबीच नेपाली कांग्रेसले भने फरक रणनीति अपनाउँदै नयाँ अनुहार चन्द्रकला देवी यादवलाई उम्मेदवार बनाएको छ। यसलाई कांग्रेसको पुस्तान्तरण र नयाँ सन्देशको प्रयासका रूपमा हेरिएको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यसै क्षेत्रबाट तपेश्वर यादवलाई मैदानमा उतारेर पुराना दल र स्थापित नेतामाथि चुनौती दिने प्रयास गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट